मकवानपुरकाे बकैया पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

निरन्तर न्यूज
३० जेष्ठ २०८२, बिहीबार १४:१७

हेटाैँडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित गरिएको छ। आधारभूत खोप कार्यक्रमअन्तर्गतका सूचकहरूमा अपेक्षित प्रगति हासिल गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति सदस्य सचिव कृष्णबहादुर मिजारले पालिका अध्यक्ष धर्मराज लामिछानेलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष भक्तबहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख रमेश फुयाँल, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।

स्वास्थ्य शाखाका प्रमुख फुयाँलका अनुसार पालिकाभित्र १५ महिनासम्मका ५८० जना र १६ देखि ५९ महिनासम्मका १,८६४ जना बालबालिका छन्, जसलाई सबैलाई खोप दिइएको छ।

गाउँपालिकाले हरेक वर्ष माघ, फागुन र चैत महिनामा स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनाका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। साथै, वैशाख महिनामा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइनेछ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रमको दीगो कार्यान्वयनका लागि गाउँपालिका तथा वडास्तरबाट नियमित अनुगमन गरी असार महिनाभित्र प्रमाणिकरण गरिने जनाइएको छ। बकैया गाउँपालिका १२ वटा वडामा विभाजित छ, जहाँ १२ वटा स्वास्थ्य संस्था संचालनमा छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख मिजारका अनुसार मकवानपुरका दसवटै स्थानीय तहलाई असार महिनाभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ। यसअघि हेटौँडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका घोषणा भइसकेका छन् भने बागमती, कैलाश र इन्द्रसरोवर गाउँपालिका तयारीको अन्तिम चरणमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*