हेटौंडा सिमेन्टको कबाड ठेकेदारबाटै चोरी भएकाे मजदुर संगठनकाे आराेप

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका पुराना सामान(कबाड) ठेकेदार पक्षबाटै चोरी भएको रहस्य खुलेको छ ।
हेटौंडा–९ मा अवस्थित सरकारी स्वामित्वको सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोग गरिएको पुरानो रोप–वे लिलामी गरी बाराको लिपनीमालस्थित श्री पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा ठेक्का दिएको थियो ।
ठेकेदार पक्षले उद्योगसँगको सम्झौताविपरीत उद्योगको ट्रान्सफर्मरदेखि पुरानो डम्फर गाडीसम्म चोरी गरेको भन्दै उद्योगमा क्रियाशील मजदुर संगठनले जनाएका छन् ।
‘करिब १५ करोड रुपैयाँ पर्ने रोपवेको सामान ४ करोडमा बिक्री गरिएको छ । रोपवे बिक्री गर्ने क्रममा भैंसे खानीको चमेना गृहनजिक रहेको डम्फर, कबाड तथा सम्झौताभन्दा धेरै फलामहरू ठेकेदार पक्षले चोरी गरेको छ,’ हेटौंडामा पत्रकार सम्मेलन गर्दै मजदुर संगठनहरूले बताएका छन्, ‘भैंसे खानीबाटै लाखौं मूल्यको ६३० केभीएको ट्रान्सफर्मर चोरी भएको थियो । सर्वत्र विरोधपश्चात ट्रान्सफर्मर फिर्ता ल्याइएको छ । अन्य स्थानबाट समेत ट्रान्सफर्मर ठेकेदार पक्षले लगेको भन्ने छ । कतैबाट छानबिन भएको छैन ।’
रोप–वे बिक्री गर्ने विषयमा गत पुस ७ गते ठेकेदार पक्षसँग सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन् । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार उद्योगले पहिलो किस्ताबापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँसमेत प्राप्त गरिसकेको छ । रोप-वे खरिदकर्ताले सम्झौताको ९ महिनाभित्र सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति उद्योगसँग भएको छ ।
ठेक्का सम्झौता भएको एक महिनाभित्रै ठेकेदार पक्षले भैंसे खानी र अन्य स्थानबाट पुराना कबाड चोरी गरेका थिए । यस विषयमा उद्योगका खानी महाशाखाका वरिष्ठ अधिकृत हरेराम आचार्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई अनुसन्धानका लागि पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको उद्योगले जनाएको छ ।
ठेक्का सम्झौता भएको एक महिनाभित्रै ठेकेदार पक्षले भैंसे खानी र अन्य स्थानबाट पुराना कबाड चोरी गरेका थिए । यस विषयमा उद्योगका खानी महाशाखाका वरिष्ठ अधिकृत हरेराम आचार्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई अनुसन्धानका लागि पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको उद्योगले जनाएको छ ।
उद्योगमा कार्यरत मजदुरहरूले ठेकेदार पक्षले उद्योगका तत्कालीन महाप्रबन्धक वसन्तराज पाण्डे र प्रहरीको सहयोगबाटै कबाड चोरेको आरोप लगाएका छन् । ‘हामीले महाप्रबन्धकलाई यस विषयमा कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ भनेका थियौं, तर उहाँले आलटाल गर्नुभयो । पछि उहाँ नै आफ्नो जागिर अवधि कम छ भन्दै काठमाडौं लाग्नुभयो,’ उद्योगमा कार्यरत एक मजदुर नेताले बताए । उनका अनुसार कबाड चोरी भएको विषयमा प्रहरीलाई पूर्ण जानकारी भए पनि छानबिन प्रक्रिया अगाडि बढाएको छैन ।
‘उद्योगमा विकृति मौलायो’
सरकारी स्वामित्वको उद्योगमा विकृति नै विकृति रहेको पाइएको छ । उद्योगलाई आवश्यक कोइला बजार मूल्यभन्दा दोब्बरमा खरिद गरिएको आरोप उद्योगमा क्रियाशील मजदुर संगठनले लगाएका छन् । उनीहरूले उद्योगमा मनपरी भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
करिब १५ करोड रुपैयाँ पर्ने रोपवे जम्मा ४ करोडमा बिक्री गरिएको, कोइलालगायतको कच्चा पदार्थ बजार मूल्यभन्दा दोब्बर बढीमा खरिद गरिएको, ओखरे खानीको पुरानो ढुङ्गा क्रसिङ नै नगरी सम्पूर्ण रकम नियमविपरीत भुक्तानी गरिएको उनीहरूको आरोप छ ।
सिमेन्ट उद्योगको रोपवे बेचेर पुरानो मेसिनरी संयन्त्र स्थानान्तरण गर्ने सिफारिसको आधारमा व्यवस्थापनले टेन्डरमार्फत लिलामी प्रक्रिया अगाडि बढाए पनि त्यसको विपरीत सञ्चालक समितिले अत्यधिक महँगोमा कोइला र अन्य कच्चा पदार्थको भुक्तानी गर्ने गैरकानुनी निर्णय गरेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष कुमार खतिवडाले बताए ।
कोइलालगायतको कच्चा पदार्थ महँगोमा खरिद गर्दा सिमेन्टको प्रतिबोरा लागत वृद्धि भई उद्योग घाटामा गएको र उक्त कोइला २/३ महिनामा आपूर्ति भैसक्नुपर्नेमा ३/४ वर्षसम्म सम्झौता लम्याइएको उनले बताए । डम्फर र ट्रान्सफर्मर चोरीको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दर्ता गराए पनि कुनै कारबाही प्रक्रिया अगाडि नबढाइएको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष नेमा डिमडुङले बताए । यसबारेमा उद्योग प्रशासनले समेत कुनै जवाफ नदिएको उनले बताए ।
नेपाल कारखाना श्रमिक संघका अध्यक्ष विशाल नेपालका अनुसार हेटौंडा सिमेन्ट उद्योगमा १९३ कर्मचारी कार्यरत रहेका छन् । यसबाहेक दैनिक ज्यालादारी र सुरक्षाकर्मी गरी थप करिब १५० कर्मचारी छन् । कर्मचारीले फागुन महिनायता तलब पाएका छैनन् । भदौदेखि सञ्चय कोष र नागरिक लगानी कोषको रकम रोकिएको छ । उद्योगका कर्मचारीको मात्रै करिब पौने ५ करोड र दैनिक ज्यालादारीको २ करोड गरी पौने ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको नेपालले बताए । हेटौंडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन चलिरहे पनि क्लिङ्कर उत्पादन भने बन्द रहेको छ । व्यवस्थापन र कर्मचारी ट्रेड युनियनको सामान्य विवादका कारण केही दिनदेखि बिक्री समेत बन्द अवस्थामा रहेको छ ।