बागमती प्रदेश यूवा परिषद्ले महत्वपूर्ण काम गरेकाे छ : चौंलागाई

हेटाैँडा । बागमती प्रदेश यूवा परिषद्का निर्वतमान कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईले आफ्नो चार वर्षीय कार्यकालमा समाजदेखि राज्यसम्म यूवा वर्गको मुद्धा स्थापित गराउन सफल भएको दावी गर्नुभएको छ ।
युवालाई राज्यको नीति, नियम, आफनो अधिकारको बारेमा बुझन र बुझाउन प्रेरित गर्ने खालका कार्यहरु परिषद्मार्फत भएको उहाँले उल्लेख गर्नुभयो ।
यो बीचमा प्रदेश यूवा नीति, नमुना यूवा सांसदको अभ्यास, यूवा नीतिबारे बहस र पैरवी, यूवा महिलाका लागि आत्मरक्षा तालिम, र प्रदेश यूवा सम्मेलनको आयोजना लगायतका महत्वपूर्ण कार्यहरु यूवा परिषद्ले आयोजना गरेको उहाँले बताउनुभयो ।
“यूवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्न पर्याप्त तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आर्थिक वर्ष २०८१÷०८२ लाई सीप वर्षकै रुपमा घोषणा गरेर काम गर्ने अवसर प्राप्त भयो । झण्डै दश हजार यूवालाई सीपमूलक तालिमको आयोना गर्न सफल भयौं । यो कार्यक्रमबाट सयौं यूवा स्वरोजगार बन्न सफल हुनुभएको छ । ” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो “ स्वरोजगार प्रतिनिधिमूलक यूवाको दस्तावेजको पुस्तक समेत तयार हुँदैछ । महिला यूवाको आत्मरक्षाको तालिमलाई प्रदेशभर लोकप्रिय रुपमा स्थापित गर्न सफल भयौं । यसले महिला यूवाको आत्मरक्षामा ठूलो टेवा पुगेको विश्वास लिएको छु । ”
प्रदेशका यूवालाई कुलतको बाटोबाट बचाएर कसरी सक्षम बनाउने भन्ने विषयमा विविध कार्यशाला, अभिमुखीकरण तथा अभिप्रेरणामूलक कार्य गरिएको उहाँले बताउनुभयो । परिषद्मार्फत मुख्यमन्त्रीसँग यूवाको प्रत्यक्ष संवादका अभ्यासहरुले पनि यूवालाई राज्यसँग जोड्ने पैरवीको कार्य भएको उहाँले उल्लेख गर्नुभयो ।
परिषद्लाई खेलकुद परिषद्सँग गाभेर लैजाने प्रदेश सरकारको घोषणाप्रति उहाँले बागमती सरकारको ध्यानाकर्षण गराउनुभयो । यूवाको सम्मान र यूवा पुस्तालाई उचित सम्बोधन गर्न प्रदेश यूवा परिषद्लाई हालकै संरचनामा कायम राखेर थप सशक्त बनाउनेतर्फ प्रदेश सरकारले जोड दिनुपर्ने उहाँको भनाई छ ।