मकवानपुरकाे थाहा ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा

निरन्तर न्यूज
४ असार २०८२, बुधबार १०:४१

पालुङ । थाहा नगरपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता वडा तथा पालिका’ घोषणा गरिएको छ। थाहा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख बिष्णु बिष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रूपमा मंगलबार यो घोषणा गरेका हुन्।

यो घोषणा ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गरिएको हो।

नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार, पहिलो चरणमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो।

गत आर्थिक वर्षमा ०–१५ महिनाका ६४१ जना र १६–२३ महिनाका ५४७ जना बालबालिकाले पूर्ण खोप लगाएका थिए। पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ४३८ र ०–१५ महिनाका ४८८ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको जनाइएको छ।

खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २९ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ। यसै आधारमा करिब ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि, पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भरत गोपाली, विशिष्ट अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, १२ वटै वडाका अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागिहरुले खोप सुनिश्चितता पालिका बनाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

थाहा नगरपालिका १२ वडायुक्त पालिका हो, जसमा साबिकका दामन, पालुङ, बज्रवाराही, चिलाङ, टिस्टुङ र आग्रासहित छ वटा गाविस समेटिएका छन्। पालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्रसहित पाँचवटा स्वास्थ्य संस्था रहेका छन्।

नगर प्रमुख बिष्णु बिष्टले घोषणा कार्यक्रममा बोल्दै खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पारे। साथै, खोप सुनिश्चितता अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*