नागार्जुनका मेयर माेहन बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

निरन्तर न्यूज
६ असार २०८२, शुक्रबार २०:४४

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले उनीविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

पदमा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको आरोप थियो। उनले मेयर बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएको अख्तियारले दाबी गरेका थिए।

अदालतले उनले उक्त घुस लिएको देखिएको आदेशमा उल्लेख गरेको छ।

अख्तियारले सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको थियो। त्यसमा पनि अदालतले दोषी देखाएको हो।

अख्तियारले मेयरकी श्रीमती उर्मिलालाई पनि प्रतिवादी बनाएको थियो।

‘अर्का प्रतिवादी उर्मिला बस्नेतको हकमा निजले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नभएको निजले सफाइ पाउने,’ आदेशमा भनिएको छ।

कोलनीका सञ्चालक राजेन्द्र कँडेललाई पनि सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ।

उनीहरूको सजाय निर्धारण गर्नका लागि असार १६ गतेको लागि पेसी तोकिएको छ।

बस्नेत नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*