६० किलो सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोक्का पक्राउ
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार रोक्कालाई पक्राउ गरेको प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो।उनी सुन तस्करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।
रोक्का माओवादी रोल्पाकी नेतृ हुन् । उनको सम्बन्ध माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनसँग समेत भएको भन्दै समाचारहरू आएका थिए। तर अमलासँग पारिवारिक नाताबाहेक अरू सम्बन्ध नरहेको उनीहरूले बताउँदै आएका छन् ।
रोक्काले ठमेलको भियना होटल पनि सञ्चालन गर्थिन्। प्रहरीले सुन तस्करीको छानबिन गर्दा उक्त होटलमा पटकपटक छापा मारेको थियो।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शुमा सुन रहेको सूचनापछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।








