हेटौंडा उपमहानगरका १९ वडालाई ३२ करोड २५ लाख बजेट

निरन्तर न्यूज
२९ असार २०८२, आईतवार ११:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वटा वडालाई कुल बत्तीस करोड, पच्चीस लाख ६५ हजारको बजेट सीमा तोकेको छ ।

गत १० असारमा कुल २ अर्व ९० करोड ३ लाख रुपैँयाको बजेट ल्याएको हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि नगर भित्रका १९ वटा वडामा कुल बत्तीस करोड, पच्चीस लाख ६५ हजार, रुपैँयाको बजेट सिलिङ तोकेको हो ।

नगरले वडाहरुमा १ करोड ५५ लाख २३ हजार रुपैँया देखि २ करोड १८ लाख ९८ हजार रुपैँया सम्मको बजेट सिमा तोकेको छ ।

वडालाई दिइएको बजेट सीमा अनुसार वडाहरुले नगरपालिकालाई योजनाहरु समावेश गरेर उपलब्ध गराएका छन् । यो सँगै बुधबारबाट आगामी आर्थिक बर्षको बजेटको पुस्तिका तयार पार्ने काम सुरु भएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सवीन न्यौपानेले बताउनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार वडालाई बजेटको सिलिङ पठाइसकेको छ । वडाले आगामी आर्थिक वर्ष देखि उपलब्ध बजेटबाटै पन्ध्र लाख रुपैँया बजेट प्रशासनिक कार्यमा खर्चिन सक्ने उहाँले बताउनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार भौगोलिक विकटता, स्रोत साधनको उपलब्धता, क्षेत्रफल, विकासका गतिविधि लगायतका कुरालाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाहरुमा बजेट सिलिङ तोकिएको हो ।

उपमहानगरपालिकाले २,४, ५, ६, ७, ८, ९, १० र ११ नम्बरका वडालाई लाई १ करोड ५५ लाख २३ हजार रुपैँया बजेट सीमा तोकेको छ ।

त्यस्तै उपमहानगरले १, ३, १२, १३, १४, १५, १६ र १७ नम्बर वडालाई १ करोड ७६ लाख ४७ हजार बजेट सीमा तोकेको छ ।

त्यस्तै वडा नम्बर १८ लाई १ करोड ९७ लाख ७३ हजार र वडा नम्बर १९ लाई २ करोड १८ लाख ९८ हजार रुपैँया बजेट सीमा तोकेको छ ।

बजेट सीमा निर्धारण गर्दा बढी सुगम र कम विकट भएका वडाहरुलाई ‘क’ वर्ग, साविकको वडामा मिसिएका सुगम र दुर्गम बराबरी भएका क्षेत्रलाई ‘ख’ वर्ग र अत्यन्तै विकट क्षेत्रलाई ‘ग’ वर्गमा राखेर गरिएको हो ।

आगामी आर्थिक वर्षदेखि हेटौंडाका वडाहरुले बीस लाख रुपैँयासम्मको योजना वडाबाटै सम्पन्न गर्न पाउने अधिकार हेटौंडा उपमहानगरले प्रदान गर्ने भएको छ ।

जसले सानातिना कामको लागि नगरपालिका धाउन नपर्ने र यसले वडाको कार्यव्यवस्थालाई बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । “ विकटका वडाहरुबाट सामान्य काम कारवाहिका लागि नगरपालिकासम्म धाउनुपर्ने झन्झट अब हट्ने भएको छ । यसअघि सिफारिस लिन, भुक्तानी लिन नगरपालिका धाउदा विकटका वडाबासीहरुको दश, पन्ध्र दिनको समय खेर जाने समस्या थियो । अब त्यो समस्या रहँदैन । वडालेनै त्यो सुविधा प्रदान गर्छ । ” उहाँले भन्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको दायित्व ४० करोड रुपैँयाको हाराहारीमा रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

“हाल नगरपालिकाको मुख्य चुनौती भनेको भएका दायित्व लाई कसरी घटाउने र आगामी बर्षमा यसलाई कसरी बढ्न नदिने भन्ने हो । यसवर्षको दायित्व आगामी आवमा थप हुँदा र लागत साझेदारीमा गरिने ठूला ठूला परियोजनाहरुका कारण बजेटको आकार बढ्ने देखिएको छ । यद्यपी, दायित्व कसरी कम गर्ने र दायित्व भुक्तानी हुनेगरी मात्र बजेट बनाउने खालका छलफलमा नगरपालिका जूटेको छ । बजेटको आकार घटाउने तयारीमा नगर रहेको छ । ” प्रवक्ता न्यौपानेले भन्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाले आगामी वर्ष मुख्यतया ढल निकासा, खानेपानी व्यवस्थापन, खेलकुद प्रवद्र्धन, स्वास्थ्य संस्थाको स्त्तरोन्नति र भौतिक संरचना लगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

यसअघि गत १० असारमा हेटौंडा उपमहानगरपालिकाले कुल २ अर्व ९० करोड ३ लाख रुपैँयाको बजेट ल्याएको छ । हेटौंडाले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ८६ लाख ८० हजार रुपैँया, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैँया प्राप्त हुने अनुमान गरेको छ ।

यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैँया अनुदान प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । आगामी आर्थिक वर्षमा हेटौंडाका लागि संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख रुपैँया अनुदान प्राप्त हुने र नगर

विकास कोषको ऋणबाट तीन करोेड साठ्ठी लाख रुपैँया बजेटको स्रोतमा बेहोर्ने अनुमान हेटौंडा उपमहानगरको छ । हेटौंडा उपमहानगरपालिकाले असार २७ गतेका लागि नगरसभा बोलाएको छ । नवयुगबाट।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*