मकवानपुरमा भाउजुकाे हत्या गरेकाे आरोपमा देवर थुनामा

निरन्तर न्यूज
४ श्रावण २०८२, शनिबार १२:००

हेटौंडा । थाहा नगरपालिका–१ कुन्छालमा भएको पारिवारिक घटनाले अहिले सम्म पनि गाउँ नै स्तब्ध भएको छ । भाउजु तुलुमाया गोपालीको हत्या आरोपमा पक्राउ परेका ३५ वर्षीय विमलमान गोपालीलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मंगलबार दिएको आदेश अनुसार, आरोपी विमलमानलाई हालै पक्राउ गरी अनुसन्धान थालिएको मुद्दा टुंगो लाग्दासम्म थुनामा राखिनेछ।

घटनाको जरा झन्डै एक वर्ष पुरानो पारिवारिक विवादमा रहेको देखिएको छ। ५० वर्षीया तुलुमाया गोपालीले देवर विमलमानलाई लगातार लागुऔषध र मदिराबाट टाढा रहन आग्रह गर्दै आएकी थिइन्। तर, यही सम्झाइबुझाइले दुवैबीच बोलचाल समेत बन्द भएको थियो। उनीहरू एउटै घरमा बसे पनि चुलो अलग थियो, सम्बन्ध चिसिएको थियो।

घटना असार ५ गते बिहान घरको आगनमै घट्यो। तुलुमाया आगनमा निस्कँदा देवर विमलमानले अचानक खुकुरी प्रहार गरी उनको गर्धनमा चोट पुर्‍याएका थिए। घटनास्थलमै भाउजुको ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पालुङ, थाना बजारले तत्कालै घटनामा संलग्न विमलमानलाई नियन्त्रणमा लिएको थियो। घटनामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरिएको छ।

यस घटनाले समुदायमा लागुऔषध दुरुपयोग, घरेलु हिंसा र मानसिक असन्तुलनबीचको जटिल सम्बन्धमाथि प्रश्न उठाएको छ। अनुसन्धानसँगै कानुनी प्रक्रिया अघि बढ्दै जाँदा यस घटनाको पृष्ठभूमि अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*