उच्च अदालत पाटन हेटौंडा इजलासमा ७२ प्रतिशत मुद्दा फर्स्योट

निरन्तर न्यूज
४ श्रावण २०८२, शनिबार १२:१३

हेटौंडा  । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१/०८२ मा ७२ प्रतिशत मुद्दा फर्स्योट गरेको छ। अघिल्लो वर्षको तुलनामा चार प्रतिशत कम मुद्दा फर्स्योट भए पनि इजलासले समग्रमा सन्तोषजनक कार्य सम्पादन गरेको जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा इजलासले ७६ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो। तर, हालको आवमा दर्ता भएका मुद्दाको संख्या बढेकाले प्रतिशतमा केही गिरावट आएको हो। अदालतका एक अधिकृतले भने, “मुद्दा संख्या बढेको पृष्ठभूमिमा यो फर्स्योट दर सन्तोषजनक मान्न सकिन्छ।”

गत आवमा अदालतमा १ हजार ७ सय २७ थान मुद्दा दर्ता भएका थिए, जसमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दाहरू पनि समावेश छन्। तीमध्ये १ हजार २ सय ४७ मुद्दा फर्स्योट गरिएको हो। अघिल्लो वर्ष १ हजार ६ सय १९ मुद्दामध्ये १ हजार २ सय ४५ मुद्दा फर्स्योट भएका थिए।

चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको उच्च अदालत पाटन हेटौंडा इजलासमा एक वर्ष र दुई वर्ष नाघेका मुद्दा शून्य रहेको छ। यसले अदालतको प्रभावकारी कार्यशैली झल्काउँछ।

सात जना न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल पाँच जना मात्र कार्यरत छन्। तीमध्ये सबै महिला न्यायाधीश रहेका छन्, जुन लैंगिक समावेशीताको दृष्टिले उल्लेखनीय मानिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*