घाटामा गएकाे हेटाैँडा सिमेन्टमा सञ्चालक सदस्य नियुक्त गर्न दरखास्त
हेटौंडा । निजिकरण गर्न लागिएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
घाटामा गएकाे भनिएकाे हेटाैँडा सिमेन्टकाे लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगमा रिक्त दुई सञ्चालक सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
उद्योग मन्त्रालयले जारी गरेको सूचना अनुसार सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने छ ।
इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एक साताभित्र (१० साउन) कार्यालय समयभित्र सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिनुपर्ने छ ।
आवेदनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८’ को अनुसूची–२ बमोजिम सञ्चालक सदस्य पदमा दरखास्त भरेर २ प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मन्त्रालयको वेबसाइटमा रहेको नमुना बमोजिम स्वघोषणा फारम, व्यक्तिगत विवरण र अनुभव सम्बन्धमा सम्बन्धित निकायको प्रमाणित कागजातका प्रतिलिपिलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
केही दिन अघि उद्याेगका ट्रेड युनियनका प्रतिनिधिहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।
hcil saadasya reuired








