विद्यादेवी भण्डारीको चीन भ्रमण ओलीकै सल्लाहमा भएको थियो : अध्यक्ष प्रचण्ड

निरन्तर न्यूज
१२ भाद्र २०८२, बिहीबार १५:२६

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने कदम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा भएको दाबी गरेका गर्नु भएको छ । विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म ओलीकै सहमतिमा भएको बताउनु भयो ।
प्रचण्डले भन्नुभयो, “भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहना स्पष्ट छ। यो सबै ओलीको सल्लाहमा भएको हो। तर, चीन भ्रमणपछि के भयो, मलाई थाहा छैन।” उहाँले संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नरोक्ने स्पष्ट पार्नुभयो ।

विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्रीजस्ता पदमा रहेका व्यक्ति पुनः राजनीतिमा फर्कने उदाहरण रहेको उहाँको भनाइ छ।

प्रचण्डले आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर भण्डारीलाई पनि बाटो खोलिदिएको दाबी गर्नुभयो। उनले भन्नुभयो , “संविधान वा कानुनले कसैलाई सक्रिय राजनीतिमा आउन रोक्दैन। यो तर्क मात्र हो।”

यसैगरी, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको खुलासा गर्नुभयो। भारत भ्रमणका क्रममा आफूले यो विषय राखेको र मोदीले संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

वर्तमान सरकारले कूटनीतिक माध्यमबाट वार्ता र संवादमार्फत हाम्रो जमिन फिर्ता ल्याउन पहल गर्नुपर्नेमा प्रचण्डको जोड छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा कहिल्यै गम्भीर नभएको उहाँको भनाइ छ ।

प्रचण्डले पार्टीभित्रका स्वार्थ समूह विघटन गर्ने निर्णय भएको र समाजवादी मोर्चासँग एकताको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले एक दुई जनाको लहड वा असहमतिले पार्टीमा कुनै पनि फरक नपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*