बागमतीका मुख्यमन्त्री बानियाँको निर्देशन : हेल्मेट नलगाउनेलाई ‘नो फ्युल’
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अब हेल्मेट नलगाउने दुई पाङ्ग्रे सवारी चालकलाई पेट्रोल पम्पमा इन्धन नदिन निर्देशन दिएका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मातहतका निकायसँगको बैठकमा उनले बढ्दो सवारी दुर्घटना रोकथामका लागि ‘नो हेल्मेट, नो फ्युल’ नीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
उनका अनुसार कानुनले तोकेको अनुसार हेल्मेट प्रयोगलाई कडाइका साथ पालना गराउने उद्देश्यले पेट्रोल पम्पहरूले हेल्मेट बिना आएका चालकलाई इन्धन नदिने व्यवस्था हुने छ । यसका लागि नेपाल आयल निगम, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्ने निर्णय भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेशले सबै पेट्रोल पम्पमा हेल्मेट अनिवार्य सम्बन्धी सन्देशमूलक बोर्ड राख्ने तयारी गरेको छ ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रदेशमा सवारी दुर्घटनाको अवस्था र कारणबारे प्रस्तुत गरेको थियो । सो अवसरमा मुख्यमन्त्री बानियाँले मादक पदार्थ र लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरूको परीक्षणलाई नियमित र प्रभावकारी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिए ।
छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रदेशका प्रमुख सचिव भुपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेन्द्रकुमार भारती, प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण पौडेल, सशस्त्र प्रहरी प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेश अध्यक्ष सुदर्शन कार्की, ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको सहभागिता थियो ।








