टंकमणि एक साहसी योद्धा हुनुहुन्थ्यो : अध्यक्ष प्रचण्ड

निरन्तर न्यूज
१५ भाद्र २०८२, आईतवार १७:५६

बुटवल। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, रूपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार बुटवलस्थित प्रतिष्ठानको कार्यालय परिसरमा आयोजित समारोहमा अर्धकदको शालिक अनावरण गरिएको हो। सोही अवसरमा ‘टंकमणि: एक क्रान्तिबीज’ पुस्तकको पनि विमोचन गरिएको छ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको सफलतामा टंकमणिको नेतृत्वमा सप्लाई विभागले खेलेको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्नुभयो। उहाँले टंकमणिले जोखिमपूर्ण जिम्मेवारी बहन गर्दै दशवर्षे जनयुद्धलाई सफल बनाउन विशेष योगदान दिएको बताउनुभयो। “टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो, जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो,” प्रचण्डले भन्नुभयो।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको उल्लेख गर्नुभयो। उहाँले उपमहानगरले परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा सधैं कदर गर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पाण्डेले कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भए पनि केन्द्रमा गठबन्धन भत्किए पनि स्थानीय तहमा गठबन्धनको मर्मअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो। स्वर्गीय टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*