एनएमबी बैंककाे १७ प्रतिशत शेयर स्वामित्वमा मलेसीयन र नेदरल्याण्ड्स कम्पनीकाे होल्ड
काठमाडौं । एनएमबी बैंकमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १४ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार १४ संस्था तथा व्यक्तिको ०.५ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व रहेको छ ।
जसमा १७.९१ प्रतिशत हिस्सा विदेशी कम्पनीको रहेको छ । दुई वटा विदेशी कम्पनीहरुले उक्त हिस्सा होल्ड गरेका हुन् । जहाँ नेदरल्याण्डसको एफएमओ. नामक कम्पनीले १३.६९ प्रतिशत स्वामित्व होल्ड गरेको छ । बैंकको सबैभन्दा ठूलो शेयरधनी पनि यही कम्पनी हो । जसको हाल २ करोड ५१ लख ४७ हजार बढी कित्ता शेयर रहेको छ ।
यसैगरी, अर्काे विदेशी कम्पनी यंग लयिन रियल्टी एसडीएनबीएचडी नामक कम्पनीको शेयर ७७ लाख ४२ हजार भन्दा बढी रहेको छ । जसको स्वामित्व ४.२२ प्रतिशत रहेको छ । यो मलेसियाको कम्पनी हो । एनएमबी बैंकको यो कम्पनी तेस्रो ठूलो शेयरधनी हो । दोस्रो ठूलो शेयरधनीका रुपमा भने कर्मचारी संचय कोष रहेको छ । जसको १ करोड १ लाख ५० हजार ७०० बढी कित्ता शेयर रहेको छ । कर्मचारी संचय कोषले ५.५३ प्रतिशत शेयर होल्ड गरेको छ ।
बैंकमा नाम चलेको व्यपारीहरुको लगानी रहेको छ । पशुपति मुरारका, पवन गोल्यान, पुरुषोत्तम लाल संघाई लगायत नाम चलेका व्यवसायीहरूको बैंकमा लगानी रहेको छ ।
गाईत्री इन्भेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने नन्द किशोर राठीको १.६८, धनन्जय प्रसाद आचार्यको १.५४, सुनिल कुमार गोशालीको १ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यसैगरी, पवन कुमार गोल्यानको ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१, सुशिल कुमार गोशालीको ०.९०, सन्तोष देवी मुरारकाको ०.७९, पुरुषोत्तम लाल संघाईको ०.६८, पशुपति मुरारका को ०.५८ र सन्तोष राठीको ०.५४ प्रतिशन शेयर स्वामित्व रहेको छ ।








