श्रमिकको काममा लापरबाही गरेको भन्दै युएईका श्रम काउन्सिलर पौडेल फिर्ता

निरन्तर न्यूज
२१ पुष २०८२, सोमबार २०:००

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासका श्रम काउन्सलर दीपेन्द्र पौडेललाई सरकारले फिर्ता बोलाएको छ। श्रमिकको उद्धार, राहत र क्षतिपूर्ति सम्बन्धी काममा लापरबाही गरेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाउँदै नेपाल फिर्ता बोलाएको हो।

युएईमा रहेका नेपाली श्रमिकका समस्या सम्बोधनमा उदासीनता देखिएको गुनासो आएपछि पौडेलमाथि दूतावासस्तरीय आन्तरिक छानबिन गरिएको थियो। दूतावास उपप्रमुखको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले श्रमिकका उजुरीहरू नहेरी ‘काम सम्पन्न’ सूचीमा राखिएको निष्कर्ष निकालेको छ।

छानबिन प्रतिवेदनअनुसार पौडेलले श्रमिकका करिब १४०० उजुरीमा कुनै काम नगरी काम गरिएको भनी अभिलेख राखेको पाइएको छ। समितिको प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले उनलाई कार्यकाल बाँकी रहँदै फिर्ता बोलाएको हो। उनी शनिबार नेपाल फर्किएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पौडेललाई गत वर्ष श्रम काउन्सलरका रूपमा युएईस्थित दूतावासमा नियुक्त गरेको थियो। वैदेशिक रोजगार ऐनअनुसार श्रम काउन्सलरको कार्यकाल पूरा हुनुअघि फिर्ता गरिनु दुर्लभ मानिन्छ।

राजदूत, श्रम काउन्सलर र श्रम सहचारी नियुक्तिमा आर्थिक लेनदेन र पहुँचको आधारमा निर्णय हुने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको छ। यद्यपि, यस्ता गुनासोबीच श्रम काउन्सलरमाथि औपचारिक छानबिन भई कार्यकाल नसकिँदै फिर्ता गरिनु सम्भवतः पहिलो घटना हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*