आगामी निर्वाचनमा उम्मेदवार नबन्ने नेकपाका नेता विरोध खतिवडाकाे घाेषणा
हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घाेषणा गरेका छन्।
नेता खतिवडाले आज हेटाैँडामा पत्रकार सम्मेलनकाे आयाेजना गरि आफु उम्मेदवार नबन्ने घाेषणा गरेका हुन् । नेकपा मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि खतिवडाको नाम सिफारिस गरेको थियो।
पूर्व स्वास्थ्यमन्त्री खतिवडाले दुवै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोमा आभार प्रकट गर्दै अब नयाँ अनुहार आउनुपर्छ नयाँलाई सहयाेग गर्ने बताए । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय एवम् प्रखर वक्ताका रूपमा पनि परिचित खतिवडाले आफु सधै सक्रिय राजनीतिमा रहने भएकाेले उम्मेदवार नबन्ने कुरालाई राजनीतिबाट बिश्राम लिने जस्ता कुराकाे रुपमा नबुझिदिन आग्रह गरेका छन् । २०४३ सालदेखि राष्ट्रिय पञ्चायत हुँदै २०७९ सालकाे प्रतिनिधिसभाको सदस्यका रूपमा मकवानपुरबाट ६ पटक उम्मेदवार बनेर चार पटक बिजयी भए र २ पटक पराजीत भएकाे अनुभवले नेपाली कम्युनिष्ट पार्टीलाई जिल्लामा अब्बल बनाउन आफु लागिपर्ने बताए ।
२०४३ सालमा मालेको तर्फबाट जनपक्षीय उम्मेदवारको रूपमा खडा भएका उनी पराजित भएका थिए। २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनले विजय हासिल गरेका थिए। एमाले विभाजित भएर बनेकाे तत्कालीन एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बन्न सफल भएका खतिवडा २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर २ बाट पराजित भएका थिए।








