रास्वपासँग एकता भंग भएपछि कुलमान बने उनेपा अध्यक्ष
काठमाण्डाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पूर्वऊर्जामन्त्री कुलमान घिसिङको एकता भंग भएको छ ।
सरकारबाट राजीनामा दिएर भागबण्डाको प्रस्तावमा छलफल गरिरहेका कुलमानको माग पूरा गर्न रास्वपा सक्षम नभएपछि एकता भंग भएको हो ।
रास्वपाको नाम परिवर्तन गर्नुपर्ने, आधा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने, पार्टीको उपसभापति र महामन्त्री दिनुपर्ने अडान राखेपछि रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहले कुलमानको माग पूरा गर्न नसकिने जवाफ दिएर वार्ता टुंगिएको स्रोतले जनाएको छ ।
कुलमानले पार्टीको सिद्धान्तमा साम्यवादको अडान लिँदा पनि रास्वपा झस्किएको छ । समाजवाद र लोकतन्त्रको सिद्धान्तमा सबै सहमत भए पनि कुलमानले तत्कालीन माओवादीले भन्ने गरेको साम्यवादको माग समेत राखेपछि सहमति जुट्न नसकेको बताइएको छ ।
यसैबीच घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए ।
यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि अव दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन् ।








