मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निरन्तर न्यूज
४ माघ २०८२, शनिबार ०८:४९

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीस्वरूप मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार शुक्रबार हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनमा कार्यालय सञ्चालनमा ल्याइएको हो।

उक्त भवनमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाइएको छ। कार्यालय उद्घाटन कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश गीता श्रेष्ठ, निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिवक्ता देवेन्द्र आचार्य, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी लगायतको उपस्थिति रहेको थियो।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुर जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य पाँच जना रहेका छन्।

१०२ वटा वडा रहेको मकवानपुरमा निर्वाचनका लागि १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक सबै तयारी अघि बढाइएको पनि कार्यालयले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*