प्रलोपा मकवानपुरको अध्यक्षमा ढकाल चयन, इन्चार्ज बने सिम्खडा
हेटौँडा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल चयन भएका छन् । शुक्रबार हेटौँडामा सम्पन्न बैठकले ढकाललाई संयोजक चयन गरेको हो ।
बैठकले राजेन्द्र सिंखडा (दारी बा) लाई जिल्ला इन्चार्ज तोकेको छ । ढकाल र सिंखडाको निर्णय प्रदेश कमिटीको गत पुस २० गतेको परिपत्रअनुसार गरिएको जनाइएको छ । बैठकले जिल्लामा संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
संगठन सुदृढीकरण र आसन्न संघीय निर्वाचनको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित जिल्ला नेतृत्व चयन तथा उम्मेदवार छनौटमा प्रलोपा सक्रिय भएको हो । बैठकले फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ । बैठकले मकवानपुर क्षेत्र नम्बर–१ का लागि तेजप्रसाद उप्रेती (रमेश) र तुफान विक्रम क्षेत्री (दिपशक्ति), मकवानपुर क्षेत्र नम्बर–२ का लागि सन्तोष विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले निर्वाचनका लागि क्षेत्र केन्द्रित इन्चार्जको जिम्मेवारी तोक्ने तथा आसन्न निर्वाचनका लागि परिचालन कमिटी गठन गर्ने निर्णय समेत गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सोनामसिंह स्यान्ताङ (विजय) प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए ।








