बिहानै जानकी मन्दिरमा दर्शन गर्दै बालेनको राजनीतिक यात्रा सुरु
काठमाण्डाैँ । काठमाण्डाैँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जनकपुरबाट राजनीतिक यात्रा सुरु गरेका छन् ।
शाह सोमबार बिहानै जनकपुरधामस्थित जानकी मन्दिरमा गएर दर्शन गरेका छन्।
रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको चुनावी जनसभालाई सम्बोधन गर्न शाह आइतबार साँझ जनकपुर पुगेका थिए ।
रास्वपाले सोमबार ‘परिवर्तन उद्घोष सभा’मै पार्टी प्रवेश गर्ने तयारीमा रहेका पूर्व सांसद डा.अमरेश कुमार सिंहसँगै बालेनले जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा शाह सहभागी भएका हुन्।
शाह र सिंह दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना पनि गरे। बालेन सोमबार नै मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्न सिरहाको लहान जाने कार्यक्रम छ।
मधेश आन्दोलनको क्रममा सहिद भएकाहरूको स्मृतिमा हरेक वर्ष माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ।








