प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बागमतीका ६ जना सांसदले दिए राजीनामा
हेटाैँडा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि बागमती प्रदेशसभाका ६ जना सदस्यहरुले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्न उनीहरुले कार्यकाल नसकिदै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
प्रदेशसभाको कार्याकाल २०८४ मंसिरसम्म बाँकी रहेको छ। प्रदेशसभा सचिवालयले दिएकार् जानकारी अनुसार राजीनामा दिनेमा नेपाली काँग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल केसी रहेका छन् । केसीबाहेक सबै सांसद प्रदेशको मन्त्री भइसकेका छन् ।
पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका काफ्लेले सोमबार हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमै उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका थिए । उनले ‘आफुले टिकट पाउनेमा ढुक्क रहेकाे र छु दोलखाका जनताले मेरो माग गरेपछि राजीनामा दिएको हुँ,’ उनले भने ।
मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमा राजीनामा पठाएका थिए । उनीहरुलाई पार्टीले टिकट दिइसकेकाे छ। प्रदेशसभा सचिवालयका अनुसार उनीहरुको राजीनामा स्वीकृत गरी अन्य प्रक्रिया अगाडि बढाइसकिएको छ ।








