मकवानपुरमा एमाले, राप्रपा र नेकपाकाे टुंगाे लाग्याे उम्मेदवार

निरन्तर न्यूज
६ माघ २०८२, सोमबार २१:३८

हेटौंडा । आगामी  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरका दुई वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।

मकवानपुर–१ बाट युवा नेता बिजय गाैतम र  र क्षेत्र नम्बर–२ बाट थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट उम्मेदवार बन्ने   भएका छन् । गाैतम तत्कालिन नेकपा माअओवादी केन्द्रकाे मकवानपुर इन्चार्ज थिए भने नारायणकाजी श्रेष्ठ उपप्रधान तथा  गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिवकाे जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । गाैतमलाई जिल्लामा अन्य राजनीतिक दलले समेत अध्ययनशील बाैद्धिक युवा नेताकाे रुपमा बुझ्ने गर्दछन् ।

यस अघि नै आगामी निर्वाचनमा मकवानपुर–१ मा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाएको छ । जिल्ला इन्चार्ज र केन्द्रिय सदस्य रहेका राना तत्कालिन जिल्ला विकास समितिका सभापती भैसकेका व्यक्ति हुन् । यसअघि २०७९ काे निर्वाचनमा रानाकाे टिकट अन्तिम सम्म टुंगाे लागिसकेकाे भएपनि बीचमा कमल थापाकाे इन्ट्री भएपछि उनकाे टिकट खाेसिएकाे थियाे ।

मकवानपुर–२ मा एमालेले निवर्तमान सांसद महेश बर्तौलालाई टिकट दिएको छ । बर्ताैलाले २०७९ मा हेभीवेट उम्मेदवार भनेर चिनिएका बिराेध खतिवडालाई हराएका थिए ।

यसैगरि राप्रपाबाट मकवानपुर–१ बाट निवर्तमान सांसद दीपकबहादुर सिंह र क्षेत्र नम्बर–२ बाट रामबहादुर थोकर उम्मेदवार बन्ने पक्का भएका छन् ।

सिंह २०७९ को निर्वाचनमा मकवानपुर–१ बाट विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी महालक्ष्मी (डिना) उपाध्याय रहेकी थिइन् । सिंहले २७ हजार ८१६ मत ल्याएर विजयी भएका थिए भने डिनाले २५ हजार ४२३ मत ल्याएकी थिइन् भने नेकपा एमालेबाट उठेका कमल थापाले २५ हजार ४ सय २० मत ल्याएका थिए ।

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मकवानपुर–१ बाट तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नम्बर २ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउने जनाएको छ। दुवै क्षेत्रबाट युवा उम्मेदवार अघि सारिएको सो पार्टीले जनाएको छ। बाँकीकाे माघ ६ गते उम्मेदवार मनाेनयनमा देखिनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*