वरिष्ठ अभिनेता सुनिल थापाको राष्ट्रिय झन्डा ओढाएर गरियाे अन्तिम बिदाइ

निरन्तर न्यूज
२६ माघ २०८२, आईतवार २२:४३

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका दिग्गज एवं लोकप्रिय अभिनेता सुनिल थापाको अन्तिम बिदाइमा कलाकार भावुक बनेका छन्।

थापाको हृदयाघातका कारण ६८ वर्षको उमेरमा हिजो शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बिहान बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका थापालाई साढे ७ बजे ईसीजी रिपोर्टपछि चिकित्सकले मृत घोषित गरेका थिए। लामो समयदेखि शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

नेपाली सिनेमामा ‘राते काइँला’ को नामले अमिट छाप छोडेका थापाले चार दशकभन्दा लामो फिल्मी यात्रामा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनले नेपाली मात्र नभई भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा समेत आफ्नो सशक्त अभिनयको जादु छरेका थिए। विशेषगरी बलिउड अभिनेत्री प्रियंका चोपडाको चलचित्र ‘मैरी कोम’ मा प्रशिक्षकको भूमिका र चर्चित वेब सिरिज ‘द फेमिली म्यान’ मा उनको अभिनयलाई विश्वभरका दर्शकले रुचाएका थिए।

नेपाली पर्दामा खलनायकको चरित्रलाई नयाँ उचाइ र पहिचान दिलाउन थापाको योगदान अविस्मरणीय मानिन्छ।

स्वर्गीय थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा राखिएको छ। बोर्डमा चलचित्रकर्मी, कलाकार, राजनीतिज्ञ र उनका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ। विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बोर्ड पुगेर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको निधनसँगै नेपाली चलचित्रको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको महसुस गरिएको छ।

दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको हो ।

थापाकाे पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरेका हुन् ।

थापालाई मन्त्रीदेखि नेपाल प्रहरी प्रमुखसहित वरिष्ठ कलाकारहरु नीर शाह, शम्भुजीत बासकोटा लगायत आफन्त, शुभेच्छुक आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दिवंगत थापाको शवमा छोराले दागबत्ती दिएका थिए । थापाका श्रीमती, एक छोरा र छोरी छन् । हृदयाघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*