सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै घरदैलाेमा बिजय गाैतम
प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू घरदैलो र भेटघाटमा व्यस्त देखिएका छन्।
मकवानपुर क्षेत्र नम्बर १ मा विजय गौतम ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। काभ्रेमा जन्मिएका तथा मकवानपुरको बकैया गाउँपालिका स्थायी घर भएका ४० वर्षीय गौतम विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा स्थापित भएका नेता हुन्।
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गौतम तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनले जिल्लामा पार्टी संगठन सुदृढीकरण र राजनीतिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
युवा उमेरमै केन्द्रीय जिम्मेवारी पाएका गौतम पार्टी संगठन विस्तार, कार्यकर्ता समन्वय र स्थानीय मुद्दामा सक्रियताका कारण जिल्लामा परिचित छन्। उनले विशेषतः सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै आएका छन्।
गौतमले नीति निर्माण र प्रशासनिक कामको अनुभवसमेत हासिल गरेका छन्। नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा उनको सचिवालयमा काम गरेको अनुभवले राज्य सञ्चालन, सुरक्षा संयन्त्र र प्रशासनिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्राप्त भएको उनको भनाइ छ। उक्त अनुभवलाई संसदीय अभ्यास र नीति निर्माणमा उपयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम युवामैत्री राजनीति र परिवर्तनमुखी एजेन्डा अघि सारेका छन्। विकास र सुशासनलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै उनले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारमा जोड दिएका छन्।
“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ। तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन,” उनले चुनावी अभियानका क्रममा भने। “फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु।”
उनले युवा पुस्ता रोजगारीका लागि विदेशिन बाध्य नहोस् भन्ने लक्ष्यसहित नीति निर्माणमा सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन्।
मकवानपुर क्षेत्र नम्बर १ मा गौतमसहित १० स्वतन्त्र र १३ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।








