इरान-अमेरिका युद्धविराम वार्ता स्थगित

निरन्तर न्यूज
१९ जेष्ठ २०८३, मंगलवार १०:२४

एजेन्सी । इरानले अमेरिकासँगको युद्धविराम वार्ता हालका लागि स्थगित गरेको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, लेबनानमा इजरायली आक्रमण नरोकिँदासम्म मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुनै पनि वार्ता नहुने तेहरानले स्पष्ट पारेको छ।

रिपोर्टका अनुसार, लेबनानमा शान्ति कायम राख्नु युद्धविरामको मुख्य सर्तहरूमध्ये एक रहेको इरानको दाबी छ। तर अहिले लेबनानसहित कैयौँ मोर्चामा यस सम्झौताको उल्लंघन भइरहेको छ।

आफ्ना अधिकारहरू पूर्ण रूपमा सुरक्षित छन् भन्ने विश्वास नभएसम्म अमेरिकासँगको कुनै पनि सम्झौतालाई स्वीकृति नदिइने इरानले स्पष्ट पारेको छ।

इरानले गाजा र लेबनानमा इजरायलको सैन्य कारबाही तुरुन्त रोक्न तथा लेबनानी क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग गरेको छ। यी मुद्दाहरूमा आफ्नो र आफ्ना सहयोगीहरूको माग पूरा नभएसम्म वार्ता पुनः सुरु नहुने तेहरानले जनाएको छ।

तस्निमको रिपोर्टमा भनिएको छ- इरान र उसका सहयोगीहरू होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गर्ने र अन्य मोर्चाहरूलाई सक्रिय पार्ने विकल्पमा पनि विचार गरिरहेका छन्। यसमा लाल सागरको दक्षिणी हिस्सामा अवस्थित बाब अल-मन्देव स्ट्रेट पनि समावेश छ।

इजरायली सेनाले दक्षिणी लेबनानमा अवस्थित ९०० वर्ष पुरानो ब्युफोर्ट किल्ला र आसपासका पहाडहरूमा कब्जा गरेको छ। यो पछिल्लो २६ वर्षमा इजरायलको लेबनानतर्फको सबैभन्दा ठूलो अतिक्रमण हो।

उता, फ्रान्सले लेबनानमा इजरायलको बढ्दो सैन्य कारबाहीलाई लिएर संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार, अमेरिकाले अन्य देशका सेनाहरू विरुद्ध गर्दै आएको जति इरानी सेनामाथि कडा कारबाही नगरेको बताएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च २ मा पुनः लडाइँ सुरु भएयता इजरायली आक्रमणमा कम्तीमा ३,४३३ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयले सोही अवधिमा १०,३९५ जना घाइते भएको समेत जनाएको छ। घाइते हुनेहरूमा ठूलो संख्यामा महिला, बालबालिका र आम नागरिक रहेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*