सभामुखबारे चाँडै टुंगो लगाउन कांग्रेसको दबाब

निरन्तर न्यूज
२ माघ २०७६, बिहीबार १४:१६

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख नियुक्तिका लागि नेकपामाथि दबाब बढाउँदै लगेको छ।

नेकपाले सभामुख नियुक्तिजस्तो सामान्य प्रक्रियासमेत पूरा गर्न नसकेको भन्दै कांग्रेसले प्रतिनिधिसभाको आगामी बैठकबाट सभामुख चयनको प्रक्रिया सुरु नगरिए बैठक नै अवरुद्ध समेत गर्ने तयारी गरेको छ।

उक्त विषयमा निर्णय लिन कांग्रेस संसदीय दलको बैठक शुक्रबार १ः३० बजे बोलाइएको छ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवारको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको काम कारवाही अगाडि बढ्न सकेको छैन।

आगामी माघ ६ गतेका लागि बोलाइएको बैठकमा पनि सभामुख चयनको प्रक्रिया सुरु नभए कांग्रेसले संसद अवरुद्ध गर्नसक्ने कांग्रेस सचेतक डा.पुष्पा भुसालले बताइन् ।

‘शुक्रबार बस्ने हाम्रो संसदीय दलको बैठकमा अहिलेको संसदको अवस्थाका बारेमा छलफल हुनेछ। नेकपाले संसदलाई बन्धक बनाइरहेका बेला कांग्रेसले के गर्ने भन्ने विषयमा पनि निर्णय लिइनेछ,’ भुसालले भनिन् ।

नेकपाभित्र कसलाई सभामुख बनाउने भन्नेबारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि कुनै निर्णय हुन सकेको छैन।

अर्कोतिर नेकपाले उपसभामुख शिवमाया तुम्बाहम्फेलाई राजीनामा दिन भने पनि उनले सभामुख नियुक्तिको प्रक्रिया सुरु नहुँदासम्म राजीनामा नदिने अडान लिएकी छन् ।

१४ असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*