कानून मन्त्रालयमा किन राखिएन पूर्व मन्त्री उपेन्द्र यादवकाे तश्विर ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्दिरको घन्टी र मादल जस्तो भएको छ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय । यो मन्त्रालयमा कतिखेर को मन्त्री आउँछन् टुङ्गो नै हुँदैन ।
यो मन्त्रालय सम्हाल्न कोही रहरले आउँछ त कोही बाध्यताले । यो मन्त्रालय यतिसम्मको अस्थिर भइसकेको छ कि मन्त्रालयमा कानून मन्त्रीको फोटो नै नहुने अवस्थामा पुगिसकेको छ ।
तत्कालीन कानून मन्त्री उपेन्द्र यादवको फोटो समेत मन्त्रालयमा छैन । यादव २०७५ साल जेठ १८ गते संविधान संशोधनको दुई बुँदे सर्तसहित सरकारमा सहभागी भएका थिए । त्यतिबेला सरकारमा सहभागी हुँदा यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री थिए । पछि आठौं पटक मन्त्रीमण्डल पूर्नगठन हुँदा बिना जानकारी र इच्छाविपरित यादव कानुनमन्त्रीमा सरुवा भए ।
सल्लाहबिना प्रधानमन्त्री ओलीले कानून मन्त्रालयमा सारेपछि पनि गत मंसिर ९ गते कार्यभार सम्हाल्न यादव पुगे । र, पुष ८ गते संविधान संशोधन गर्न सरकार तयार नभएको भन्दै सरकारबाट बाहिए । एक महिना कानूनमन्त्री भएका यादवको मन्त्रालयमा फोटो समेत राखिएको छैन ।
सोमबार दिउँसो साझापोष्टकर्मी मन्त्रालय पुग्दा त्यहाँका कर्मचारी उपेन्द्र यादवको फोटो मगाउनुपर्ने भन्दै तातिएका थिए । एक कर्मचारीले पासपोर्ट साइजको फोटो माग गर्दै थिइँन । उनले छिट्टै यादवको फोटो राख्ने विश्वास दिलाइन् ।
तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले महिलाबारे विवादित अभिव्यक्ति दिएपछि भानुभक्त ढकाल यो मन्त्रालय सम्हाल्न आइपुगेका थिए । पछि, उनले आफूले रोजेको मन्त्रालय स्वास्थमा गए । र, उपेन्द्रलाई कानूनमा पठाए ।
उपेन्द्रले सरकार छोडेपछि खालि रहेको कानून मन्त्रालय सम्हाल्न तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फे आइपुगेकी छिन् । त्यसैले हामीले शिवमायालाई पदभार पछि सोधेका थियौं, ‘सबैले प्रयोग गरेर छोड्ने मन्त्रालयलाई तपाईंले कसरी स्थिर राख्नुहुन्छ ?’ उनको जवाफ थियो- ‘अरुले जसरी म काम गर्दिनँ ।’ श्राेत: साझापाेष्ट











