पूर्वसांसद भागवत ज्ञवालीको निधन

निरन्तर न्यूज
६ फाल्गुन २०७६, मंगलवार १५:०२

काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । विगत केही समयदेखि अल्सर रोगबाट पीडित पूर्वसांसद ज्ञवालीको आज (मंगलबार) ७६ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेसको गुल्मी जिल्ला कार्यसमितिका प्रथम सभापतिसमेत रहेका ज्ञवाली भारतको दिल्लीमा उपचार गरेर आएपछि अल्का अस्पतालमा पुनः उपचार गराउँदै आएका थिए । उनी २०४८ को आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

ज्ञवालीको निधन प्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

“नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद, गुल्मीका निष्ठावान अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,” देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*