गुनासो गर्ने किसानलाई कांग्रेस नेता उपेन्द्र यादवले खेतमै पुगेर कुटपिट गरी चर्पीमा थुने

निरन्तर न्यूज
७ फाल्गुन २०७६, बुधबार १४:०८

बारा । नेपाली कांग्रेसका नेता समेत रहेका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालय (चर्पी)मा थुनेका छन । गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्दै स्थानीय युवा मुकेश कुशवाहाका ५५ वर्षीय बुबा हरेन्द्र महतोलाई मेयर यादवले सोमबार कुटपिटपछि शौचालयमा थुनेको आजको नेपाल समाचार पत्रले समाचार प्रकाशित गरेको छ ।

गत आर्थिक वर्ष २०७५र०७६ मा सम्पन्न गर्नुपर्ने नालाको काम हालसम्म पूरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक सञ्जालमा अपलोड गरेका थिए। करिव २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहाँ जान मन लाग्छ त्यही जानू’ भनी प्रतिक्रिया दिएका छन ।

फेसबुकबाट भिडियो सार्वजनिक भएलगत्तै अपमान गरेको भन्दै मेयर यादवले मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका १ दर्जनभन्दा बढी नगर प्रहरीले फेला पार्न नसकेपछि खेतमा काम गरिरहेका उनका बुबालाई समातेर कुटपिट गर्दै यातना दिएका हुन । ‘गहुँबारीमा सिँचाइ गरेर बसेको थिएँ’, हरेन्द्रले भन्नुभयो– ‘नगरपालिका पुगेपछि गालिगलौज र कुटपिट गर्दै शौचालयमा थुन्नुभयो।’

मेयर यादवले आफूले लगाएको जुत्ता निकालेर टाउकोमा राख्न भनेको र नमानेपछि कुटपिट गर्दै नगरपालिकाको चर्पीमा आधा घन्टासम्म थुनेको उनले बताए । ‘तेरो छोराले मेरो बेइज्जत गरेको छ, अब दुवै जनालाई त्यसै छोड्दिनँ भनेर धम्की पनि दिएका छन्।’ –उनले भने । मेयर यादवले भने हरेन्द्रमाथि कुटपिट र दुव्र्यवहार नगरेको तर छोरा मुकेशलाई फेला पार्न नसकेपछि बाबुलाई सोधपुछका क्रममा नगरपालिकामा बोलाएको दाबी गरे । यादव ५ हजार ६ सय ८८ मतका साथ स्थानीय निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए । नेपाल समाचारपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*