बागमती प्रदेश सांसदले काेराेना उपचार काेषमा १५ दिनकाे तलब सहयाेग गर्ने
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदिय दलले बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।
विश्वभरी महामारीका रुपमा फैलीएको कोरोना भाईरस नियन्त्रणका लागि सहयोग गर्न नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले पाउने सेवा सुबिधाको १५ दिनको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको नेकपा संसदिय दलका मुख्य सचेतक केशवराज पान्डेले जानकारी दिनुभयो ।
कोरोना भाईरसको सङ्क्रमण कम गर्न सरकारले लकडाउन गरेकोले सो पालना गर्न आमजनसमुदायलाई आग्रह समेत गरीएको छ । बिश्वसमुदाय समक्ष चुनौतीका रुपमा रहेको कोरोना भाईरसलाई परास्त गर्न सरकारले गरेको आव्हानलाई कार्यन्वयन गर्नुको बिकल्प नभएको मुख्य सचेतक पान्डेले बताउनुभयो ।
सरकारले गरेको निर्णयपुर्ण रुपमा पालना गराउन सहयोग गर्न प्रदेश सभा सदस्यहरुलाई उहाले आग्रह समेत गर्नुभयो । बागमती प्रदेश सभामा नेकपाका ८० सदस्यहरु रहेका छन ।
यसअघि नै प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसहित अन्य मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि ७ दिनको पारिश्रमिक बराबरकाे रकम जम्मा गर्ने जनाएको छ ।











