समाजवादी पार्टी प्रदेश ५ ले विभिन्न स्थानमा किटनाशक औषधि छर्किएको

निरन्तर न्यूज
१९ चैत्र २०७६, बुधबार ०९:०७

काठमाडौं, १८ चैत । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९)को विरुद्ध समाजवादी पार्टी प्रदेश ५ ले विभिन्न स्थानमा किटनाशक औषधि छर्किएको उक्त पार्टीले जनाएको छ ।

प्रदेश नं. ५ का मुख्यसचिव यज्ञ पोखरेलका अनुसार पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री इस्तियाक राईको लगानी र नेतृत्वमा नेपालगञ्ज बजारभरी यसै साता किटनाशक औषधि छर्किने काम सम्पन्न भएको छ ।

त्यस्तै प्रदेश उपाध्यक्ष सन्तोष पाण्डेको लगानी र नेतृत्वमा सिद्धार्थनगर नगरपालिका भैरहवा बजारमा विषादि छर्केने काम सम्पन्न भएको मुख्यसचिव पोखरेलले जानकारी दिए ।
समाजवादी पार्टी निकट भातृ संगठन समाजवादी महिला संघले मर्चवारमा, समाजवादी पार्टी प्रदेश कोषाध्यक्षको नेतृत्वमा नेपालगञ्जमा निशुल्क मास्क वितरण गरिएको छ । पार्टी प्रवक्ता अकराम पठानको पहलमा कृष्णनगरमा, प्रदेश सदस्य बजरङ्गी थारुको पहलमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा र समाजवादी युवा संघको पहलमा बाँकेमा निशुल्क मास्क वितरण गरिएको पोखरेलले जानकारी दिए ।

यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश ईञ्चार्ज दान बहादुर चौधरी र प्रदेश संसदीय दलका नेता सहसराम यादवको नेतृतव्वमा कपिलवस्तुमा माइकिङ गरी लकडाउनको पालना गर्दै कोरोनाबाट सावधानी अपनाउन सचेतना फैलाइएको पोखरेलले जानकारी दिए ।

उता, समाजवादी पार्टी दाङका सहईञ्चार्ज टोपबहादुर महराको नेतृत्वमा तुल्सीपुरको चन्द्रौटामा खाद्यान्न वितरण गरिएको छ भने सिना नगरअध्यक्ष अर्जुन जैसवालले औषधिका लागि ५० हजार र खाद्यान्नका लागि ५० हजार गरी एक लाख राहतको घोषणा गरेका छन् ।

कोरोना महामारीविरुद्ध जनचेतना जगाउनेदेखि राहत वितरणसम्मको काम अगाडि बढिरहेको प्रदेशका मुख्यसचिव पोखरेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*