प्रधानमन्त्री ओलीसँग देखादेख नभएको महिनौं भइसक्योः बाबुराम भट्टराई

निरन्तर न्यूज
२३ असार २०७७, मंगलवार १०:१४

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीसँग कुनै संवाद नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा डा. भट्टराईसँग ओलीले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको हल्ला चलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जालमा युवाहरुले भट्टराईले ओलीलाई समर्थन गर्नु भनेको अमेरिकामा बर्नी स्यानर्डर्सले डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुजस्तै सर्वसत्तावादको अनुमोदन हो भन्दै प्रश्न गरेपछि भट्टराईले स्पष्टोक्ति दिएका हुन् ।

‘अमेरिकामा बर्नी स्यार्डर्सले डोनाल्ड ट्रम्पको पक्षमा बोले भने सम्झनुस् स्यान्डर्स कुन स्तरमा गिर्ने छन् ?,’ ट्वीट सन्देशमा नवीन तिवारीको प्रश्न छ, ‘सर्वसत्तावादी र पश्चगामी सोचको खड्गप्रसाद ओलीले गरेको पार्टी एकता वा सत्ता सहकार्यको प्रस्तावलाई तपाईं (डा. भट्टराई)ले स्वीकार्नु भयो भने सर्वसत्तावादलाई अनुमोदन बाहेक केहि हुनेछैन ।’

सोही ट्वीटको जवाफमा भट्टराईले सोमबार लेखेका छन्, ‘भूपी शेरचनले त्यसै भनेका होइन रहेछन् यो हल्लै हल्लाको देश हो! सचेत युवाहरू समेत कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि लागेको देख्दा गम्भीर चिन्ता लाग्यो ।’

उनले ओलीले नमस्कार पनि नफर्काएपछि भेट नभएको महिनौं भइसकेको स्पष्ट पारेका छन् । ‘प्रम ओलीलाई नमस्कार गर्दा उनले नमस्कार फर्काउन पनि छोडेपछि उनीसंग देखादेख नभएको त महिनौं भैसक्यो अनि के कुरा हुनु ?,’ उनले भनेका छन् ।

यसैबीच डा. भट्टराईले अर्को ट्वीटमा लेखेका छन्, ‘ओली र अरिंगाल सेनाले प्रतिपक्षी फुटाउन गरेका हर्कत देख्दा सानैमा हाम्री निरक्षर आमाले सुनाएको ठगको कथा याद आयो- एउटा असाध्यै मिलेका पतिपत्नीलाई एक्लाएक्लै कुनामा लगेर ठगले कानमा खासखुस गरेछ। पछि..पति-के भन्यो हँ ?पत्नी-केही भनेन, तिमीलाई नि?… ढाट्छेस् ?..ढाट्छौ?.. कुटाकुट ! ठग- हा हा हा!’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*