निकटस्थसँग ओलीको ब्रिफिङ – मैले छाडे शक्ति प्रचण्डमा सर्छ, पूर्वएमाले आफ्नै घरमा शरणार्थी हुन्छन्

निरन्तर न्यूज
२४ असार २०७७, बुधबार ११:३७

काठमाडौं । पार्टीभित्र मतभेद र संकट चर्किंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमाले नेता, कार्यकर्ताहरुसँग ससाना समूह बनाएर फरकफरक भेटघाट गर्न थालेका छन् । यस्ता भेटघाटमा ओलीले पूर्व एमाले मनोविज्ञानलाई उपयोग गर्न खोजेको बताइन्छ ।

ओलीद्वारा आयोजित एक भेटघाटमा सहभागीका अनुसार प्रम ओलीले यस्ता भेटघाटमा बढो भावुुक, भावनात्मक र मर्मस्पर्शी शैली अपनाउन खोजेका छन् । ओलीले भन्ने गरेका छन्, ‘म यतिका वर्षदेखि पार्टीमा, आन्दोलनमा सँगै छु । म दुई वर्ष प्रधानमन्त्री र अध्यक्ष बनेको तपाईंहरु सबैलाई धेरै भयो ? ठीक छ, म छोडिदिउँला, त्यसपछि के हुन्छ सोच्नु भएको छ ?’

सोमबार बिहानको एक भेटमा ओलीले भनेका थिए, ‘बिमारी शरीरले यति लामो समय पार्टीमा खटेँ । अब मैले पाउनु के छ ? दोस्रो चोटी मृृगौला प्रत्यारोपण गरेको शरीर हो, कतिखेर के हुन्छ थाहा छैन । मेरो जिन्दगी नै फाउ हो । मलाई अब केही चाहिएको पनि छैन । आउने चुनाव पनि नलड्न सक्छु । तर के तपाईहरुलाई मैले चलाखी नगरेको भए आज पार्टीसँग यत्रो बहुमत हुन्थ्यो ? पार्टी सत्तामा हुन्थ्यो भन्न् लाग्छ ?’

अर्को एक भेटमा ओलीले आफ्नो विश्लेषण यसरी सुनाए, ‘अहिलेको नेकपा भनेको ७० प्रतिशत पूर्व एमाले हो, ३० प्रतिशत पूर्वमाओवादी हो । हाम्रो घर हो यो, उनीहरुको डेरा जस्तो हो । ७० प्रतिशतले ३० प्रतिशतसँग आत्मसमर्पण गरेको, पार्टी जिम्मा लगाएको संसारमा कहीँ छ ? डेरावालले घरधनीलाई खेद्न सक्छ, खेद्न पाउँछ ?’

निकटस्थ कार्यकर्तासँग ओलीले माधव नेपालबारे गुनासो गर्ने गरेका छन् । ‘माधव कामरेड कुरै बुझ्नु हुन्न, प्रचण्डको पछि लागेर हिंड्नु हुन्छ, अहिले म छु, मलाई दङ्ग्याउँदै हुनुहुन्छ, भोलि सबैथोक प्रचण्डको हातमा गयो भने माधव कामरेडको हालत के होला ? के प्रचण्डले जनताको बहुदलीय जनवादलाई न्याय गर्दछन् ? जननेता मदन भण्डारीको बिँडो थाम्छन् ? प्रचण्ड शक्तिशाली हुँदै गए प्रचण्डपथ फर्किएला, मदन भण्डारीको ठाउँमा प्रचण्डको फोटो राख्न थालिएला, माधव कामरेडलाई त्यो स्वीकार्य छ ?’

ओलीले ‘जंगलीहरुलाई तह लगाउन र माओवादीको हिंसात्मक धारको औचित्य घुमाउरो गरी अन्त्य गर्न उनीलाई चतुराईपूर्वक न्याकेर एकतामा ल्याएको र यो एकतापछि पनि पूर्व एमालेहरुको वैचारिक विरासत र इतिहास भेटिन नहुने’ बताउने गरेका छन् ।

उनले भन्ने गरेका छन्, ‘मैले पार्टी अध्यक्ष छोडे पार्टी प्रचण्डको हातमा जान्छ । म त्यत्रो दुःखले बनाएको पार्टी जंगलीहरुलाई जिम्मा लगाउन सक्दिनँ ।’

ओलीले युवा कार्यकर्ताहरुको मन जित्न ‘शीर्षस्थ नेताहरुको सामूहिक सन्यास’ को तर्क अगाडि सार्ने गरेका छन् । उनले भन्ने गरेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, पार्टी महाधिवेशन अघि कुनै हालतमा म पार्टी अध्यक्ष छोड्न सक्दिनँ । महाधिवेशन गराएर उपयुक्त कमरेडलाई जिताएर हस्तान्तरण गर्छु । तर, सबै शीर्षस्थ साथीहरु प्रधानमन्त्री नहुन राजी हो भने, कुनै नयाँ पुस्ताको कमरेडलाई दिने हो भने म प्रधानमन्त्री चाहिँ छोड्न सक्छु तर, प्रचण्ड, माधव वा झलनाथका लागि म त्यत्रो त्याग किन गरौं ? के उनीहरुले हिजो मेरो भन्दा राम्रो सरकार चलाएका थिए ?’

झलनाथ खनालबारे ओलीको अर्कै तर्क छ । ‘झलनाथजी बारे मैले के भन्ने ? उहाँको शैली र बुताले नेपालमा यत्रो कम्युनिष्ट पार्टी बन्थ्यो ? लेख राम्रै लेख्नु होला, तर यत्रो पार्टीको व्यवहारिक व्यवस्थापन उहाँबाट हुन्छ ?’

ओलीको थप तर्क छ, ‘साथीहरु मलाई हटाउन पाए के के न हुन्थ्यो भन्ने ठान्नु हुन्छ, तर मैले बुझेको छु । मैले छोडे भने सबै शक्ति प्रचण्डमा जान्छ । एमालेहरु आफ्नै घरमा शरणार्थी हुन्छन् । माधव र झलनाथ कमरेड त प्रचण्डसँग आँखा जुधाएर कुरा गर्न समेत सक्नुहुन्न । त्यसरी कसरी हुन्छ ? म त्यस्तो किमार्थ हुुन दिन्न । म दुबै पद छोड्दिनँ अहिले, तपाईहरुले कुरा बुझ्नु पर्‍यो ? यी पद तपाईहरुका नासो हुन । यी पद म के सधै मैसंग राख्न सक्छु र ?’

सरकारको परफरमेन्सबारे प्रधानमन्त्री ओलीले यस्तो तर्क गर्ने गरेका छन्, ‘केही गर्न खोजिदै थियो, आर्थिक बृद्धिदर बढ्न थालेको थियो । कोरोना आयो । त्यत्रात्यत्रा महाशक्ति भनिएका देशको त्यस्तो हालत छ, मेरो ठाउँमा अरु कोही आउँदैमा कस्ले के चमत्कार गर्न सक्छ, भन्नु परो नी ?’

ओलीका यस्ता भेटघाटले पूर्व एमाले पंक्तिमा सकारात्मक प्रभाव पर्न थालेको बताइन्छ । पार्टी फुुटको सम्भावनाबारे ओलीले कार्यकर्ताहरुलाई यसरी विश्वासमा लिने गरेका छन्, ‘पार्टी फुट्दैन, ढुक्क हुनुस्, कस्ले फुटाउँछ पार्टी ? म पार्टीको अध्यक्ष, प्रधानमन्त्री म आफैं पार्टी फुटाउँछु ? किन फुटाउनु पार्टी मैले ? प्रचण्ड र माधवले पनि मलाई धम्क्याएका मात्र हुन् । मलाई अन्तिमसम्म धम्क्याउँछन्, धम्क्याएर एउटासम्म पद फुस्काउन सकिएला कि भनेर, तर मैले कुनै हालतमा छोड्दिनँ भन्ने बुझेपछि आफै थच्चिन्छन्, मैले त्यति कुरा बुझेको छैन र ?’

साझापाेष्टबाट लिइएकाे विचार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*