सामुदायिक क्याम्पसका समस्याबारे मुख्यमन्त्री पौडेलसँग अन्तरक्रिया
हेटौंडा । समुदायको चासो र सक्रियतामा संचालित सामुदायिक क्याम्पसका समस्या र समाधानका उपायहरुबारे सरोकारवालाहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरेका छन। देश भरि झन्डै ५०० वटा सामुदायिक क्याम्पसहरु सँचालनमा रहेका र जनस्तरबाट ब्यबस्थापन गर्नु पर्ने यस्ता क्याम्पसहरुको विभिन्न खाले समस्याहरु रहेका छन। मुलुक सँघीय लोकतान्त्रिक गणतन्त्रमा गैसकेकोले समुदायका हरेक समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश बिश्वबिध्यालय स्थापना गर्न कार्यदल गठन गरि प्रदेश सरकारले कार्य शुरु गरिसकेको जानकारी गराउनु भएको छ। सामुदायिक क्याम्पसको समस्याहरु समाधान गर्न आवश्यक सुझावहरु प्रदेश सरकारलाई उपलब्ध गराउन पनि वहाँले आग्रह गर्नु भएको छ। पब्लिक क्याम्पस प्राध्यापक सँघका केन्द्रिय महासचिव नरेन्द्र कोइरालाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । डा. दिलनाथ दँगालले सँयोजन/ सँचालन गर्नु भएको कार्यक्रममा हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। जुम मार्फत सँचालित कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको भन्दै प्रदेश नँ १ र प्रदेश नँ ५ मा पनि छिट्टै कार्यक्रम हुन लागेको डा. दिलनाथ दँगालले जानकारी दिनु भएको छ।










