ओलीको पेलानमा दाहाल-नेपाल, नेकपामा फैलिँदै अविश्वासको तुँवालो

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार ०८:२७

काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरे । कर्णाली प्रदेशतिर अविश्वासको प्रस्ताव ल्याएर संघीय मन्त्रीमण्डलमा आफ्नो अनुकूलताका पात्रहरु थपेपछि नेकपाभित्र अविश्वासको तुँवालो फैलँदो छ ।

कर्णालीमा आक्रमण गरेर प्रचण्डलाई प्यारालाइज्ड गरेको र कुनै पनि अडान लिन नसक्ने अवस्थामा पुर्‍याएको अनुभूति एक पूर्वमाओवादी नेताको छ । ‘कि मैले भनेको मान, कि कुनै पनि विकल्प दिन्नँ’ भनेर ओली समूहले प्रचण्डलाई पेलिरहेको ती नेताले भने ।

प्रम ओलीको पछिल्ला कदमहरु पुरानै शैलीको निरन्तरता भएको र उनले पार्टी पद्धति र पछिल्ला सहमतिहरु नमानेको माधव नेपाल पक्षको आरोप छ । मन्त्रीपरिषद् हेरफेर आफ्नो रुचि र चाहनाअनुसार नभएको र यसलाई रोक्न चाहे पनि नसकेको प्रचण्ड पक्षको स्पष्टीकरण छ । तर, यो तर्कसँग नेकपामा माधव नेपाल समूह सहमत छैन ।

हरेक दिनजसो बालुवाटारको तारेख धाउने गरेका प्रचण्ड र प्रम ओलीबीच दैनिकजसो परामर्श भइरहेको नेपाल समूहको बुझाई छ । ओलीको पछिल्लो कदममा पनि प्रचण्डको साथ रहेको नेपाल समूहको बुझाई छ । ओली समूहकै एक नेताले माधव समूहका नेतालाई ‘प्रचण्डजीको सहमति छ, मलाई अप्ठेरो हुन्छ, बाहिर म सामान्य विरोध नै गर्छु’ भनेको भनाई सुनाए पछि नेपाल समूह झस्किएको हो ।

कतै कर्णाली प्रदेशको मुख्यमन्त्रीको जागिर जोगाउन प्रचण्डले संघतिर सबै छाडेका पो हुन् कि ? भन्ने आशंका पनि जन्मिएको छ । यद्यपि, प्रचण्डले कर्णालीमा नेपाल समूहसँग नै सम्झौता गरेका छन् । उता सम्झौता गरिसकेपछि पुनः काठमाडौं बोलाउने निर्णयले पनि नेपाल समूहमा थप आशंका जन्माएको छ ।

यद्यपि यसलाई ओली समूहको चाल भएको पूर्वमाओवादी समूहका एक नेता बताउँछन् । उनको यो भनाईमा केही दम भने छ । किनकी पुनर्गठनमा प्रचण्ड समूहका कुनै पनि नेताहरु परेका छैनन् । बुधबार थपिएका सबै पात्रहरु ओली समूहका हुन् ।

माधव नेपाल समूहको आशंकाका केही आधारहरु भने छन् । ‘प्रचण्ड दैनिक घण्टौं बालुवाटारमा हुन्छन् । ओलीसँग संवाद गरिरहेका हुन्छन् । कि ओलीले प्रचण्डलाई खेलाइरहेको मात्रै हुनुपर्छ, होइन भने उहाँहरुले केही रणनीतिक सहमति गरेर अगाडि पो बढेका छन् कि ?,’ नेपाल समूहका एक नेता भन्छन् । उनीहरु प्रचण्डको गतिविधिलाई नजिकबाट सुक्ष्म निरीक्षण गरेर अगाडि बढ्ने रणनीतिमा छन् ।

‘आजको मन्त्रिपरिषद् पुनर्गठनका सन्दर्भमा दुई अध्यक्षबीच सहमति भएको होइन भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् । प्रचण्डले आफू निकटका नेतालाई यसरी आश्वस्त बनाइरहेका देखिन्छन् ।

ओलीको निर्णयले नेकपामा एकअर्काप्रति अविश्वास र आशंका बढिरहेको भने प्रष्ट देखिन्छ । कोरोना महामारीको बेला नेकपाको आन्तरिक किचलो चर्किँदा भने सामाजिक सञ्जालमा सरकारको आलोचना बढिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*