नेकपामा युद्धविराम, दशैंपछि वारपार !
काठमाडौं । सत्ताधारी दल नेकपामा एक सातादेखि अस्थायी युद्धविराम चलिरहेको छ । यो समयमा शीर्ष नेताहरुबीच बोलचाल समेत छैन । तर, आ–आफ्ना गुट उपगुटका अनौपचारिक बैठक र छलफल जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर नेकपाभित्र फेरि रडाको शुरु भएको नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहाल प्रचण्डलाई कुनै सोधपुछ र जानकारी समेत नदिई आफ्नै ढंगले पार्टी र सरकार सञ्चालन गर्न थालेपछि पार्टीमा विवाद बढ्दै गएको हो ।
केही दिनअघि कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी पछिल्ला दिनमा ओलीको कार्यशैलीप्रति आफूलगायत नेताहरु सहमत हुन नसकेको जनाउ दिएका थिए । उनले टेलिफोनबाटै ओलीलाई ‘तपाईको कार्यशैलीले पार्टी र जनताबिचको सम्बन्ध बिग्रन गयो, तपाई जे मनमा लाग्यो त्यही गर्ने कि पार्टीको शीर्ष तहमा छलफल गरी निर्णय गर्ने ?’ भन्दै प्रश्न राखेको प्रचण्ड निकट नेताले बताए ।
२०७५ जेठ ३ गते तात्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता भएको थियो । त्यसयता पार्टीका नेताहरुबीच पटक–पटक असमझदारी र अविश्वास बढ्ने र हल हुने गरेपनि पछिल्ला दिनहरुमा नेकपामा गम्भीर संकट देखापर्न थालेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनी भन्छन्–‘प्रधानमन्त्रीले सरकार र प्रचण्डले कार्यकारी अध्यक्ष बनेर पार्टी सञ्चालन गर्ने भनिएपनि ओलीले सरकार र पार्टी दुवैमा आफ्नो मनामानी गर्न थालेपछी पार्टी एकता गरेर गल्ती गरियो कि भन्नेमा प्रचण्ड पुगेका छन् ।’
नेकपामा ओली गुट सरकारमा मात्रै बहुमतमा भएपनि उसले सिङ्गो पार्टी नै कब्जामा लिएको अवस्था देखिन थालेको भन्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमले दशैंपछि ओलीसँग वारपार गर्ने रणनिती बनाइरहेका छन् । ओलीले समेत दशैंलगत्तै पार्टीमा अझै आफ्नो पकड बढाउन प्रचण्डसँग असन्तुष्ट केहि पूर्वमाओवादी र माधव नेपाल पक्षका केही नेतालाई सरकार र पार्टीमा जिम्मेवारी दिने सोच बनाएको बालुवाटार स्रोतको भनाई छ ।
यता ओलीविरुद्ध सशक्त ढङ्गले अगाडि बढ्ने अवस्था आएको भन्दै प्रचण्ड–नेपाल समूह पनि छलफलमा छन् । तर, विगतमा जस्तै प्रचण्डबाट यता छलफल र उता(ओलीसँग) कानेखुशी हुने हो की भन्नेमा नेपाल, खनाल सशंकीत छन् । यसअघि पनि ओलीसँग निर्णायक वार्ता गर्ने भनेर जिम्मेवारी पाएका प्रचण्डले गोप्य सहमति गरेको आरोप खेप्नुपरेको थियो । श्राेत : साझापाेष्ट











