थाहा नगरपालिकामा वडा अध्यक्षले बनाए बाबुको सालिक

निरन्तर न्यूज
१५ कार्तिक २०७७, शनिबार ०७:२८

टिष्टुङ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा पूर्वजनप्रतिनिधि अष्टमान बलको सालिक निर्माण गरिएको छ । थाहा–११ का वडाअध्यक्ष किरणमान बलले आफ्नै बाबु पूर्वजनप्रतिनिधि अष्टमानको सालिक स्थापना गरेका हुन् ।

टिस्टुङ, नौखण्डेस्थित वडा कार्यालय अगाडि निर्माण गरिएको सालिकको हालै अनावरण गरिएको छ । थाहाको टिस्टुङ क्षेत्रको पहिचानका लागि पूर्वजनप्रतिनिधि बलको सालिक स्थापना गरिएको हो । थाहा नगरपालिकाको ११ र १२ नम्बर वडा कार्यालयले संयुक्त रुपमा २८ कात्तिक, २०७६ मा बलको सालिक निर्माण गर्ने निर्णय नगरपालिकामा पेस गरेको थियो ।

नगरपालिकाले टिस्टुङ पहिचान स्तम्भ शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेपछि सालिक निर्माण गरिएको हो । करिब ११ लाख खर्चमा अर्धकदको सालिक निर्माण गरिएको ११ नम्बरका वडाध्यक्ष बलले जानकारी दिए ।बल मकवानपुरको सुदूरउत्तरमा पर्ने साविक टिस्टुङ गाविसका पूर्वजनप्रतिनिधि हुन् । प्रतिनिधिसभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले स्व. बलको स्मृति दिवस अवसरमा सालिक अनावरण गरेका छन् । बल प्रधानपञ्च तथा तत्कालीन टिस्टुङ गाविसका अध्यक्षसमेत थिए ।

१४ पुस २००२ मा जन्मिएका बल २०४३ देखि २०४६ सम्म तत्कालीन टिस्टुङ पञ्चायतको प्रधानपञ्च थिए । बहुदलपछि ०४९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा उनी निर्वाचित भएका थिए । नेपाल तामाङ घेदुङ मकवानपुरका संस्थापक अध्यक्षसमेत रहेका बल ८ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाँउमा ‘लाहुरे’ उपनामबाट परिचित थिए ।

निडर स्वभाव र विकास अभियानकर्मीका रुपमा उनले सामाजिक काममा आफूलाई संलग्न गराए । उनै बलले ०४३ मा तत्कालीन साना किसान विकास आयोजना कार्यक्रमअन्तर्गत गाउँमा कुटानी पिसानी मिल स्थापना गरेका थिए । बल तत्कालीन बागेश्वरी प्राविको व्यस्थापन समितिको अध्यक्ष भएर स्थानीय स्तरमा शिक्षाको जग बसाल्न प्रयत्नशील भए ।

सालिक अनावरण गर्दै सांसद खतिवडाले बलले दुर्गम स्थानमा परिवर्तनका लागि आधार खडा गरेकाले हालको विकास सम्भव भएको बताए । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बल अन्याय र अत्याचारविरुद्ध लड्ने योद्धा भएको स्मरण गरे ।

इन्द्रसरोवर गाँउपालिकाका अध्यक्ष जीवन लामाले बल उतिबेला समुदायमा जागरण ल्याउन पहल गर्ने नेता भएको दाबी गरे ।थाहाको टिस्टुङ उत्तरी क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै छ । वडाध्यक्ष बलले ११ नम्बर वडामा मात्रै आधा दर्जन पर्यटकीय स्थल निर्माण गरिरहेका छन् ।

टिस्टुङमा चर्चित नर्वे ढुंगा छ, जहाँ काठमाडौंदेखि पर्यटक घुमफिरका लागि पुग्छन् । ११ नम्बर वडामा खुकुरी ढुंगा, चरी ढुंगा, मुस्कान झरना निर्माण भएको छ । यसैगरी देशका विभूतिहरूका प्रतिमा एकै ठाउँ देख्न पाइने गरी राष्ट्रिय विभूति पार्क निर्माण गरिँदै छ । श्राेत : पालिकाखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*