बैंगलोरलाई हराउँदै दिल्ली आइपिएलको दोस्रो स्थानमा, हारेपनि बैंगलोर प्लेअफमा

निरन्तर न्यूज
१८ कार्तिक २०७७, मंगलवार ०६:५७

काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार राति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा आठौं जीत दर्ता गर्ने क्रममा उसले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्‍यो ।

बैंगलोरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले सर्वाधिक ६० रन बनाए भने ओपनर शिखर धवनले पनि ५४ रनको योगदान दिए । बैंगलोरका शाहबाज अहमदले २ तथा मोहम्मद सिराज र वासिङटन सुन्दरले १-१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । ओपनर देवदत्त पडिक्कलले सर्वाधिक ५० रन बनाए भने एबी डिभिलियर्सले ३५ रनको योगदान दिए । कप्तान विराट कोहलीले पनि २९ रन बनाए । दिल्लीका एनरिच नोर्त्जेले ३, कगिसो रबाडाले २ तथा रविचन्द्रन आश्‍विनले १ विकेट लिए ।

यस जीतसँगै दिल्ली दोस्रो स्थानमा रहँदै प्लेअफका लागि छनौट भएको छ भने हारका बाबजुद पनि नेटरनरेटमा खासै कमी नआएका कारण बैंगलोर पनि प्लेअफमा छनौट भएको छ ।

योसँगै प्लेअफमा पुग्‍ने तीन टोलीको टुंगो लागेको छ । मंगलबार हुने समूह चरणको अन्तिम खेलमा हैदराबाद र मुम्बई खेल्दै छन् जसमा हैदराबाद विजयी भएमा प्लेअफमा पुग्ने छ । यदि हैदराबाद पराजित भएको खण्डमा कोलकाता प्लेअफमा पुग्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*