अमेरिकी राष्ट्रपतीय निर्वाचनमा नेभाडा लगायतका राज्यको नतिजा बाँकी

निरन्तर न्यूज
२० कार्तिक २०७७, बिहीबार १९:०३

अमेरिका । अमेरिकी राष्ट्रपति चुनावमा नेभाडाको मत परिणामको पनि धेरैले अपेक्षा गरेका छन् । ६ वटा इलेक्टोरल मत रहेको नेभाडामा जो बाइडेनले जीतेमा ह्वाइट हाउस प्रवेशका लागि बाटो खुल्ने देखिएको छ । तर नेभाडाको बाँकी मत परिणाम स्थानीय समय अनुसार बिहिबार विहानमात्र आउने भएको छ ।

सेक्रेटरी अफ स्टेटको चुनाव विभागले अब अर्को अपडेट स्थानीय समय अनुसार बिहिबार विहानमात्र दिने बताएको हो । स्थानीय समय अनुसार बुधबार बेलुकासम्म ७५ प्रतिशत मत गणना भइसकेको नेभाडामा बाइडेनले अग्रता कायम गरिरहेका छन् । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

नेभाडामा व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानका सबै मत गणना भइसकेका छन् । त्यस्तै चुनावको दिन हालिएका मत पनि गणना भइसकेका छन् । नोभेम्बर २ सम्म हुलाकबाट प्राप्त मतहरु पनि गणना भइसकेको जनाइएको छ ।

नोभेम्बर ३ मा र त्यसपछि हुलाकबाट प्राप्त मतपत्रहरु भने गणना गर्न बाँकी रहेका छन् । नेभाडामा झण्डै ६ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्नेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । ती मतपत्रहरुमा नोभेम्बर ३ वा त्यो भन्दा अगाडिको पोष्टमार्क हुनुपर्नेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । अहिलेसम्म ट्रम्पले अग्रता कायम गरिरहेका छन् । नर्थ क्यारोलिनाबाट १५ इलेक्टोरल मत प्राप्त हुन्छ ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ । त्यसपछिको परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने अपेक्षा गरिएको छ । पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ ।

जर्जियामा मतगणना लगभग समाप्त हुन लागेको छ । अहिलेसम्म जर्जियामा झण्डै ९० हजारमात्र मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म ९८ प्रतिशत मतगणना भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*