कांग्रेसका तर्फबाट समानुपातिक सांसद पाण्डेले लिए सपथ

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोमबार संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । पद तथा गोपनियताको शपथपछि सभामुख सापकोटाले सांसद पाण्डेलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए ।
पद तथा गोपनियताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए ।
उनले संसदमा प्रतिपक्षिको भूमिकालाई सशक्त बनाउन लागिपर्ने उल्लेख गरे । उनले मुलुकको विकासका लागि दलहरुबीचको एकता आवश्यक रहेको जिकिर गर्दै अहिले दलहरुलाई कमजोर बनाउने काम भइरहेको बताए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य पनि थिए । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।