प्रचण्ड र माधवले देश बर्बाद पार्ने देखेरै ओलीलाई साथ दिएँ : मन्त्री साह
काठमाण्डाैँ । नेकपा (ओली समूह)का नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल देशलाई बर्बाद गर्न उद्धत रहेकोले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको बताएका छन् ।
साहले हिजाे एक वक्तव्य जारी गर्दै मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न र स्थायित्वका लागि ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आह्वान समेत गरेका छन् ।
विगतमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने काम गरेको प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्सीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको नेता साहको ठहर छ ।
प्रचण्डको सत्ता लोभको परिणामस्वरुप हाल कम्युनिष्ट आन्दोलन धरापमा परेकाे तथा सिंगाे मुलुक नै अस्तव्यवस्त र अन्योलग्रस्त स्थितिमा पुगेको उनको वक्तव्यमा उल्लेख छ ।
असफल भइसकेको दुई अध्यक्ष प्रणाली पुनः प्रचण्ड र माधव नेपालले अंगिकार गरेर कम्युनिष्ट आन्दोलनलाई धरापमा पुर्याउने काम गरेकाे उनको निष्कर्ष छ ।
ज्ञानेन्द्रको निरंकुशता विरुद्ध लड्नुको सट्टा राजालाई दाम चढाएको, दुई क्षेत्रबाट हारेर प्रधानमन्त्री भएको, महाधिवेशनबाट पराजित भएर अध्यक्ष बन्न नसकेको पदको लोभी माधव नेपाललाई अध्यक्ष बनाइनु देशको जनादेश विपरीत भएको र समग्र कम्युनिष्ट आन्दोलनलाई लज्जित भएको वक्तव्यमा उल्लेख छ ।
“मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत नेकपामा निर्माण भएको दुई अध्यक्षीय प्रणाली व्यवहारत: समेत असफल भैसकेको स्थितिमा केवल आफ्नो पद र कुरीति मोहको लागि पार्टीभित्र निरन्तर जालझेल, धोकाधडी एवम् अराजकता मचाउँदै पछिल्लो समय प्रचण्ड-नेपाल समुहले पुन: एक पद दुई व्यक्तिको अव्यवहारिक, अवस्तुवादी एवम् अवैज्ञानिक सिद्धान्तमार्फत केही असक्षम, अवसरवादी र असफल प्रमाणित भैसकेको नेताहरुको झुण्डको सहाराले देशमा स्थिरता, सुशासन र विकासको परिकल्पना गर्नु गोरुले दुध दिन्छ भन्ने कुरामाथि विश्वास गर्नु बराबर हो,” साहको वक्तव्यमा भनिएको छ ।
“हिजोको दिनमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने प्रचण्ड शान्ति प्रक्रिया पश्चात केवल कुर्शीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित हुनुभएको छ । जसको परिणामले आज कम्युनिष्ट आन्दोलन मात्र धारासाही भएको छैन, अपितु सिङ्गो मुलुक नै अस्तव्यवस्त एवम् अन्योलग्रस्त स्थितिमा छ ।” वक्तव्यमा उल्लेख छ, “ज्ञानेन्द्र साहको निरकुंश शाही सत्ताविरुद्ध निर्णायक लडाईको आन्दोलनलाई सफल बनाउनुको सट्टा दाम चढाएर लम्पसार परेको, आन्दोलन र पार्टीको शाख नै सिध्याउने, पदमा हुँदा सिङ्गो पार्टीलाई हराएर राजिनामा दिन पुगेको माधव नेपाल आफैले छानेको २-२ ओटा क्षेत्रबाट पराजित भएर पनि प्रधानमन्त्री र पार्टी महाधिवेशनबाट पराजित भएर पनि अध्यक्ष बन्ने अनैतिक लालसा देशको जनादेश एवम् पार्टीको पङ्क्तिको विपरित तथा सिङ्गो कम्युनिष्ट आन्दोलनको लागि लज्जाको विषय हो ।”










