प्रचण्डले ब्यालेटबक्स फेरेर चुनाव जितेको लेखराज भट्टकाे आराेप
काठमाडौं । नेकपाको केपी ओली समूहका स्थायी समिति सदस्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई चुनावमा जान आँट नभएको बताएका छन् । ‘सिरहामा राति बत्ती निभाएर ब्यालेटबक्स फेरेर चुनाव जितेका प्रचण्डजी चुनावमा जान डराउने भइहाले,’ नेता भट्टले भने ।
बुधबार उक्त समूहको सुदूरपश्चिम प्रदेशको भेलालाई काठमाडौंको कार्की ब्याङक्वेटमा सम्बोधन गर्दै नेता भट्टले माधव नेपाललाई दुई ठाउँमा चुनाव हारेको नेता भएकोले चुनावमा जान डराइरहेको आरोप लगाए ।
नेता भट्टले प्रचण्डसँग जनयुद्धको जिम्मा लिने नैतिकता नभएको आरोप लगाए । उनले नेकपाको फुटलाई ‘उल्का’को रुपमा चित्रित गरे । ‘उल्का फुट्नेबेला झिल्को हुन्छ, बिस्तारै शून्यमा हराउँछ, यो फुट यस्तै हुन्छ,’ उनले भने ।
‘प्रचण्ड यस्तो चेला हुन् जसले मोहन वैद्य जस्तो गुरुको सम्मान गरेनन्,’ उनले भने, ‘जुन चेलाले गुरुको सम्मान गर्न स्क्दैन त्यसले कसैको सम्मान गर्न सक्दैन ।’
उनले दाहाल-नेपाल समूहले सार्वजनिकरुपमा माफी मागे अध्यक्ष ओलीले उनीहरुलाई पनि एकतामा ल्याउनुपर्ने तर्क गरे । उनले पार्टीभित्र एक ढिक्का भएर समाजवाद प्राप्त गर्न दृढतापूर्वक लाग्न आग्रह गरे ।
भट्टले आफूहरुलाई प्रचण्डले अन्तिम बेलासम्म पनि पूर्व माओवादी जति सबै एकजुट हुनुपर्ने भनेर एकतामा आउन आग्रह गरेको स्मरण गराए ।
प्रचण्डमा बैचारिक विचलन आएको आरोप लगाउँदै उनले भने, ‘प्रचण्डले मलाई वैचारिक बिचलन भएको भन्ने गरेका छन् तर उनी आफैंमा वैचारिक विचलन भएको हो । उनीहरु सडकमा गएर हामी यहाँ छौं भन्दैछन तर अहिले कहाँ छन् भनेर प्रचण्ड–माधव नेपाललाई खोज्ने बेला आएको छ ।’










