प्रतिनिधि सभा विघटनविरुद्धको विरोध प्रदर्शनमा सहभागि हुन काँग्रेसकाे अपिल
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले सोमबार हुन गइरहेको सरकारविरुद्धको देशव्यापी प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपिल गरेका छन् । कांग्रेसका १३ वटा भ्रातृ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा व्यापक सहभागिता जनाउन अपिल गरेका हुन् ।
“संसद् विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलि (सोमबार) को प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,” संयुक्त अपिलमा भनिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस तेस्रो चरणको आन्दोलनमा छ । तेस्रोत चरणको आन्तदोलन अन्तर्गत कांग्रेसले सोमबार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामा एकसाथ प्रदर्शनको तयारी गरेको छ ।
यी हुन् संयुक्त अपिल गर्ने कांग्रेसका भ्रातृ संगठनहरु
१. अध्यक्ष उमा रेग्मी– नेपाल महिला संघ
२. अध्यक्ष जीतजंग बस्नेत– नेपाल तरुण दल
३. अध्यक्ष राजीव ढुंगाना– नेपाल विद्यार्थी संघ
४. अध्यक्ष टंकप्रसाद शर्मा कँडेल– नेपाल प्रजातन्त्र सेनानी संघ
५. अध्यक्ष भानुभक्त सिग्देल– नेपाल किसान संघ
६. अध्यक्ष मीनबहादुर विश्वकर्मा– नेपाल दलित संघ
७. अध्यक्ष कर्णेल धनबहादुर मास्की राना– नेपाल भूतपूर्व सैनिक संघ
८. अध्यक्ष इन्द्रबहादुर गुरुङ– नेपाल आदिवासी जनजाति संघ
९. अध्यक्ष भोजराज श्रेष्ठ– राष्ट्रिय लोकतान्त्रिक अपांग संघ
१०. अध्यक्ष अब्दुल सतार– नेपाल मुस्लिम संघ
११. अध्यक्ष कवेलबहादुर लामा– नेपाल तामाङ संघ
१२. अध्यक्ष ओम थापामगर– नेपाल राष्ट्रिय मगर संघ
१३. अध्यक्ष अनिरुद्रप्रसाद ठाकुर– नेपाल ठाकुर समाज






