प्रतिगमन कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक : डाक्टर भट्टराई

निरन्तर न्यूज
२१ माघ २०७७, बुधबार ०७:३८

अर्घाखाँची ।  जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताउनुभएको छ ।

नेता भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश गृहयुद्धमा जाने बताउँदै प्राप्त उपलब्धिको रक्षाका लागि देशमा संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गणतन्त्रको रक्षाका लागि दलहरू एक भएर आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो ।

संविधानका चार खुट्टा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशिता रहेको बताउँदै यी चार खुट्टाबाट नेपालको संविधानरूपी खाट तयार भएको बताउनुभयो । यीमध्ये जुनसुकै खुट्टा भाँचिदिए पनि खाट सुत्न योग्य नहुने भए जस्तै संविधान पनि तयस्तै हुने नेता भट्टराईको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले प्रतिनिधि सभा विघटन गरेका छन् । जसका कारण चार वटै खुट्टा हल्लिएका छन् । जुनै पनि बेला धर्मराएर खाट भाँचिने र खाट ढल्ने खतरा छ । संविधानका चार वटै खुट्टा काट्ने दिशामा ओली लागेका छन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पार्टी तयार रहेको र संयुक्त आन्दोलनका लागि कुराकानी भइरहेको उहाँको भनाइ छ ।

वैशाखमा चुनाव हुने कुनै सम्भावना नरहेको बताउँदै नेता भट्टराईले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान केपी ओलीको समूह लागेको बताउनुभयो । ‘प्रधानमन्त्री ओलीको कदम नेपालको संविधान र लोकतन्त्रको मर्म विपरीत छ । प्रकारान्तमा यो अवस्थाले देश गम्भीर दुर्घटनामा फस्दै छ’, उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*