अदालतबाट रिहा भए लगत्तै पुनः पक्राउ परे नेकपा नेता धर्मेन्द्र बास्तोला

निरन्तर न्यूज
१० फाल्गुन २०७७, सोमबार १७:२४

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ । नेता बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएलगत्तै सर्वोच्च परिसरबाट प्रहरीले पुनः पक्राउ गरेको हो ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो ।

पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ १५ गते बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।

समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*