भारतीय सेनाले दियाे एक लाख डोज कोभिड–१९ भ्याक्सिन
काठमाडौँ । नेपाली सेनालाई भारतीय सेनाले सहयोगस्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ भ्याक्सिन कोभिसिल्ड औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । मङ्गलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप हस्तान्तरण गरेको हो ।
भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले भिडियो टेलिकन्फरेन्समार्फत भ्याक्सिन प्रधान सेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेपश्चात् नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भौतिक खोप रूपमा हस्तान्तरण गरेका हुन् ।
भ्याक्सिन हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरूलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ठ सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
प्रधान सेनापति पूर्ण चन्द्र थापाले सहयोगको लागि भारतीय सेना र जनरल नरवणेप्रति धन्यवाद दिए ।









