तातोपानी नाका हुँदै चीनबाट २५ सय सिलिन्डर काठमाडौं भित्रिए
काठमाण्डाैँ । चीनबाट २५ सय अक्सिजन सिलिन्डर काठमाडौं भित्रिएका छन्। तातोपानी भन्सार कार्यालयबाट दिउँसो २ बजे पास भएका सिलिन्डर काठमाडौं भित्रिएको भन्सार प्रमुख नारद गाैतमले जानकारी दिए।
तातोपानीबाट काठमाडौं आइपुग्न चार घण्टा लाग्छ। भन्सार प्रमुख गाैतमका अनुसार १० लिटर क्षमताका २५ सय सिलिन्डर ल्याइएको हो। यी सिलिन्डर व्यापारीले ल्याएका हुन्।
भन्सार कार्यालयले स्वास्थ्य सामग्री द्रुतगतिमा पास गर्ने व्यवस्था गरेको छ। ‘सबै प्रक्रिया मिलाइसकेका छौं, स्वास्थ्य सामग्रीका कन्टेनर क्युमा बस्नु पर्दैन’, गाैतमले भने, ‘अन्य सामग्री पनि आउँदैछन्, तर के के सामग्री र कसका आउँदैछन् भन्ने बारेमा हामीलाई जानकारी छैन। जसका सामान भएपनि यो महामारीमा आउनु राम्रो हो।’
सरकारले स्वास्थ्य सामग्रीमा भन्सार छुट गरेको छ। ती सामग्री आइतबार नै आइपुग्छन् कि भनेर भन्सारका कर्मचारीले रातिसम्म पर्खिएको भन्सार प्रमुख गाैतमले बताए।
चीनले पनि स्वास्थ्य सामग्रीमा सहज आपूर्तिको व्यवस्था गरेको छ। चीनस्थित नेपाली वाणिज्य दूतावासको पहलमा चीन सरकारले नेपाल आउने स्वास्थ्य सामग्री छिटो पास गर्ने व्यवस्था मिलाएको बताइएको छ।
व्यवसायीले चीनबाट करिव २० हजार सिलिन्डर ल्याउने तयारी गरेको बताएका छन्। दैनिक २५ सयका दरले सिलिन्डर काठमाडौं भित्रिने एक व्यवसायीले बताए।
सामान ढुवानी गरिरहेका सिल्क ग्रुपका अध्यक्ष दिनेश शेर्पाले व्यवसायीले धेरै मात्रामा स्वास्थ्य सामग्री ल्याउँदै गरेको बताए।
दोश्रो चरणको कोरोना उच्च जोखिममा देखिएपछि व्यवसायीले मास्क, स्यानिटाइजर, ग्लोव्स, पीपीई लगायतका स्वास्थ्य सामग्री ल्याएका हुन्।
सरकारले पनि चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी छ। ती मध्ये २ हजार हवाईजहाज मार्फत र बाँकी १८ हजार स्थलमार्गबाट ल्याउने तयारी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
सरकारले स्थलमार्गबाट ल्याउने सिलिन्डर भने हालसम्म ढुवानी सुरु भएको छैन। हवाई जहाजबाट भने दोस्राे चरणमा ल्याउने तयारी भइरहेको छ। नेपालखबरबाट ।






