कुलमानले गरे ‘कू’, विद्युत महसुल तिर्दिन भन्दै अदालत पुग्यो शिवम्

निरन्तर न्यूज
२३ भाद्र २०७८, बुधबार २१:४४

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ हटियामा रहेको शिवम् सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत बक्यौता महसुल २ अर्ब ३९ करोड १० लाख रुपैयाँ हालसम्म पनि नतिरी उल्टै विद्युत प्राधिकरण वितरण केन्द्रले झुक्याएर बिल पठाएकोले हामी महसुल तिर्दैनौँ भनी जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको छ ।

सर्वोच्च अदालतले महसुल असुल गर्नू भनी फैसला सुनाएको २ वर्षपछि शिवम् पुनः नौटङ्की गर्न जिल्ला अदालत गएको हो । यो वा त्यो बहाना गर्दै बक्यौता महसुल नतिर्न शिवम् सिमेन्टले तिकडम सुरु गरेको छ । राज्यलाई लुट्न पल्केको शिवमले वर्तमान सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको निर्देशनलाई समेत धोती लगाइदिएको छ । मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरी महसुल तिर्न बाँकी रहेकाहरूसित महसुल उठाउनू भनी दिएको निर्देशनलाई न प्राधिकरणले टेर्‍यो, न त उद्योग सञ्चालकले नै । मन्त्री भुसालको निर्देशन बालुवामा पनि सरह भयो ।

आफू ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुने बितिक्कै जनता र राज्यको पक्षमा हुङ्कार बोलेर ‘जनताको मन्त्री’को उपनाम पाएकी मन्त्री भुसाल एकाएक बक्यौता रकम तिर्न बाँकी रहेका उद्योग सञ्चालकहरूको भेटपछि चुँसम्म बोल्न नसक्नुले मन्त्री भुसालको कार्यशैलीप्रति नागरिकले शंका गरेका छ्न् ।

निक्कै चासोको विषय बनेको शिवमको बक्यौता विद्युत महसुलको विषयमा हाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि मौन देखिएका छ्न् । जनताले एक महिना विद्युत महसुल तिर्न नसक्दा तत्काल लाइन काट्ने उर्दी दिने कुलमान शिवम् सिमेन्टले २ अर्ब ३९ करोड बक्यौता नतिर्दासमेत चुँसम्म बोल्न नसक्नुले ठूला माछा बचाउन कुलमान घिसिङ पनि सक्रिय रहेको आरोप लाग्न थालेको छ ।
कुलमान घिसिङले ठोस निर्णय लिन नसक्दा जिल्ला अदालत मकवानपुरले शिवमले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गरेको छ । बक्यौता महसुलको विषयमा अब के हुन्छ भनी कुलमान घिसिङसित प्रतिक्रिया लिन सम्पर्क गर्दा घिसिङले फोन रिसिभ नगरी पछि कल गर्छु भनी पटक-पटक म्यासेज गरी उम्कने गरेका छन् । ‘जनतालाई शूली, शिबम लाई चौतारो’ गर्ने कुलमानको कुलाङ्गार प्रवृत्ति कहिले होला अन्त्य? कुन सेटिङमा कुलमान ‘कुल’ भए त्यो भने हेर्न बाँकी नै छ । बागमती डायरीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*