एमसीसी अनुमोदन गर्न अमेरिकाले दियो नेपाललाई फेरी नयाँ समयसीमा
काठमाडौं । एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपाललाई फेरी नयाँ समयसीमा तोकेको छ। पटक पटक समय सिमा तोक्दा पनि अनुमोदन नभेपछि अमेरिकाले नयाँ समयसीमा तोकेको हो। उसले आगामी फागुन १६ गते (२८ फेब्रुअरी) भित्र अनुमोदन गरिसक्न भन्दै शुक्रबार पत्र पठाएको छ।
स्रोतका अनुसार शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै चाँडो एमसीसी अनुमोदन गर्न भनिएको छ।
नेपालमा हालसम्मकै ठूलो ५० मिलियन डलर अर्थात् करिब ५५ अर्बको अनुदान सहायता संसद्बाट अनुमोदन नहुँदा अघि बढ्न सकेको छैन। साढे दुई वर्षअघि नै सुरु हुनुपर्ने प्रसारणलाइन र सडक परियोजना दलहरुबीचको विवादका कारण संसद्मै टेबुल हुन सकेको छैन।
पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल तीव्र बनाएका छन्।
सन् २०१७ मा तत्कालीन शेरबहादुर देउवा सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर गरेको थियो भने केपी ओलीको कार्यकालमा एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालकै कानुनअन्तर्गत अर्थ मन्त्रालयका सचिवको संयोजकत्वमा एमसीए नेपालको गठन भएको थियो।
सन् २०१९ सेप्टेम्बर २९ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्दा पूर्वशर्तको रुपमा संसदीय अनुमोदनको कुरा थप गरियो। अहिले यही संसदीय अनुमोदनमा जान नै दलहरुलाई फलामको च्युरा बनेको छ।
कुनै पनि राष्ट्रिय मुद्दालाई छलफल गराउनका लागि संसद्मा लैजानुपर्ने दायित्व बोकेका दलहरु संसद्को ढोका थुनेर सडकमा छरपस्ट पारिरहेका छन्। संसद्को तालाचाबी बोकेका सभामुखले नै मूल ढोका थुनेको देखिन्छ। यसको फाइदा उठाउँदै राजनीतिक दलहरुले सत्ता र शक्तिको हिसाबकिताब गर्ने गरेका छन्। तर, संसद्मा परीक्षण गराउनका लागि भने अग्रसरता देखाएका छैनन्।
नेपालमा हालसम्मकै ठूलो ५० मिलियन डलर अर्थात् करिब ५५ अर्बको अनुदान सहायता संसद्बाट अनुमोदन नहुँदा अघि बढ्न सकेको छैन।
एमसीसी सम्झौतामा उल्लेख गरिएको पूर्वशर्तकै आधारमा २०७६ असार ३० गते संसद् सचिवालयमा अर्थ मन्त्रालयले एमसीसी दर्ता गराएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३० महिनाअघि एमसीसी सम्झौता अनुमोदनका लागि एमसीसी सम्झौता संसद् सचिवालयमा दर्ता गरेको थियो। त्यसयता यसलाई संसद्को विषय नै बनाइएको छैन।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो भूमिकाका कारण पनि एमसीसी थप सम्झौता संसदीय अनुमोदनको परीक्षणमा प्रवेश गर्न नसकेको देखिन्छ। तत्कालीन प्रधानमन्त्री ओलीले यसलाई संसद्को विषय बनाउनका लागि प्रस्ताव गर्दा उनले संशोधन बिना संसद्मा लैजान नहुने अडान राखेका थिए। त्यही ब्रिफिङ तत्कालीन सभामुख महरालाई गरेपछि महराले एमसीसी अघि बढाउन सकेनन्। अहिलेका सभामुख सापकोटालाई पनि एमसीसी सम्झौता अघि बढाउनका लागि प्रचण्डले ग्रिन सिग्नल दिएका छैनन्।






