इनारमा डुबेर ९ बालिकासहित १३ महिलाको मृत्यु
एजेन्सी, काठमाडौं । भारत उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति इनारमा डुबेर १३ महिलाको मृत्यु भएको छ । जसमा ९ जना बालिका रहेका छन् । उनीहरुको उमेर ५ देखि १५ वर्षसम्मको रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरको छ ।
गाउँका परमेश्वर कुशवाहाको घरमा विहे समारोह थियो । सोही समारोह अन्तर्गत हल्दी विधिका लागि ५० देखि ६० महिला गाउँको बीचमा रहेको पुरानो इनारमा पुगेका थिए । इनारलाई ढाकिएको जाली फाटिएपछि त्यसमाथि उभिएका महिलाहरु इनारमा खसेका हुन् । इनारमा ३५ जना खसेका थिए । घटना लगत्तै स्थानीयको उद्धारमा केही महिलाहरु सकुशल रहेपनि २० जना घाइते भएका छन् । अस्पताल लगिएको १३ जनाको भने पहिले नै निधन भइसकेको घोषित गरिएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति शोक व्यक्त गर्दै तत्काल राहतका लागि निर्देशन दिएका छन् । बेभखबरबाट ।






